Trending :
 

देशभर तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिने

मंसिर १६,२०७७

-

मङ्सिर १६,२०७७ काठमाडौं ।
मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महìवाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो ।
 
रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । 
 
यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भन्नुभयो । यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उहाँले जानकारी दिनुभयो । कम्तीमा दैनिक दुई हजार व्यक्ति आवतजावत गर्ने सडकलाई ‘कोर रोड नेटवर्क’ भन्ने गरिन्छ ।
 
उहाँले विश्व बैङ्कको ऋण सहयोगमा रणनीतिक सडक कनेक्टिभिटी र व्यापार सुधार परियोजना (स्टार्टिजिक रुट कनेक्टिभिटी एन्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट, एसआरसीटीआईपी)कार्यक्रम अन्तर्गत तीन हजार तीन सय किलोमिटर सडकको आवधिक मर्मत कार्य सुरु गर्न लागिएको हो भन्नुभयो ।
 
यस कार्यक्रम अन्तर्गत पूर्व-पश्चिम राजमार्ग, अरनिको राजमार्ग, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, मेची राजमार्ग, कोसी राजमार्ग लगायत मुलुकका प्रमुख सबै राजमार्गको मर्मत गरिने उपमहानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।
 
 ‘एसआरसीटीआईपी’ कार्यक्रम अन्तर्गत नै पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको पथलैया-ढल्केवर-कमला सडकखण्ड र मुग्लिन-नागढुङ्गा खण्डको विस्तार कार्य अगाडि बढाइएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।