गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम सकियो
-
मंसिर २१,२०७७ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताउनुभएको छ ।
विभिन्न कारणले तोकिएकै मितिमा सम्पन्न हुन नसके पनि विगतमा झण्डै हातखुट्टा छोडिसकेको यो विमानस्थल फेरि उठेर पहिले सम्पन्न हुने गौरवको आयोजना बन्न लागेको उहाँले बताउनुभयो ।
विमानस्थल आयोजनाका अनुसार अहिलेसम्म निर्माणको ९३ प्रतिशत काम सकिइसकेको छ । अब पाँच प्रतिशत उपकरण जडान र दुई प्रतिशत लाइट फिनिसिङका काम मात्र बाँकी छन् । चिनियाँ ३५ र थाई ३० जना प्राविधिक कोभिड-१९ का कारण आउन नसक्दा प्रभावित भएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीको भनाइ छ ।
विमानस्थल निर्माणको अन्तिम म्याद सकिन २५ दिन मात्र बाँकी रहँदा मन्त्री भट्टराईले ती दिनलाई भरपुर सदुपयोग गर्न आयोजनाका अधिकारीहरूलाई निर्देशन दिनुभयो । चिनियाँ प्राविधिकहरू छिट्टै आउने टुङ्गो लागेको जनाउँदै उहाँले थाई प्राविधिकहरू पनि चाँडै आउने आशा व्यक्त गर्नुभयो ।
कोभिडका कारण आउन नमानेका थाई प्राविधिकहरूलाई ल्याउन अनेक प्रयास भइरहेको जानकारी गराउँदै उहाँले अब पनि नआए वा आउन नसके सरकारले अर्को विकल्प खोजेरै भए पनि काम अघि बढाउने जानकारी गराउनुभयो । त्यसका लागि उपल्लोस्तरमा छलफल भइरहेको पनि उहाँले बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।