शे-फोक्सुन्डोका पाटनमा अब डोल्पाली मात्रै यार्चागुम्बु संकलन गर्न पाउने
-
मंसिर २२,२०७७ काठमाडौं
शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जका पाटनमा डोल्पा जिल्लावासीले मात्र यार्चागुम्बु संकलन गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत (वार्डेन) सरोजमणि पौडेलले अरू जिल्लावासीलाई रोक लगाउन निर्देशिका संशोधन प्रक्रिया अघि बढेको जानकारी दिए ।
‘स्थानीयको मागअनुसार मध्यवर्ती क्षेत्र र बढीमा डोल्पा जिल्लावासीलाई मात्र यार्चा संकलन गर्न दिने गरी निर्देशिका संशोधन हुँदै छ,’ उनले भने ।
यार्चागुम्बु व्यवस्थापन (संकलन ओसारपसार) निर्देशिका २०७३ संशोधन गर्न निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत निर्णय गरेर निकुञ्जले प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले निर्देशिका स्वीकृत गरेलगत्तै डोल्पामा अरू जिल्लाका बासिन्दाले यार्चा संकलनको अनुमति पाउनेछैनन् । ‘सबैलाई यार्चा संकलन गर्न दिँदा अनावश्यक भीड भयो, चोरी सिकारलगायत घटना पनि बढ्यो,’ पौडेलले भने, ‘स्थानीय बासिन्दाले पनि बाहिरी जिल्लाकालाई रोक लगाउन माग गर्दै आएका थिए ।’
मुलुकमै डोल्पामा सबैभन्दा बढी यार्चा संकलन हुने गरेको छ र यहाँको यार्चा अन्यत्रको भन्दा बढी मूल्यमा पनि बिक्छ । विगतमा यहाँको यार्चा प्रतिकिलो ४० लाख रुपैयाँसम्म बिकेको स्थानीय बताउँछन् । गत वर्ष भने कोरोनाका कारण यार्चा संकलन भएन । यो वर्ष यार्चा संकलन खुलाउने तयारी सुरु गरिसकेको निमित्त प्रमुख पौडेलले जानकारी दिए ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि पाटनमा यार्चा संकलन खुलाउन निकुञ्जको ध्यानाकर्षण गराइसकेको छ । यहाँको यार्चा चीन, सिंगापुर र युरोपेली मुलुकमा निकासी हुने गरेको छ । यार्चा शक्तिवर्द्धक टनिकका साथै अन्य औषधि निर्माणमा प्रयोग हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।