Trending :
 

२७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक कर्जा प्रवाह गर्नुपर्ने

मंसिर २२,२०७७

-

मंसिर  २२,२०७७ काठमाडौं ।
चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तोकिदिएको निर्देशन पालना गर्नकै लागि पनि २७ वाणिज्य बैंकले कृषि क्षेत्रमा मासिक करिब सवा ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्नुपर्ने भएको छ ।
 
२०७८ असारसम्म हरेक वाणिज्य बैंकले आफ्नो कुल कर्जाको न्यूनतम ११ प्रतिशत लगानी कृषिमा लगाउनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । गत असोजमा बैंकहरूको कुल कर्जाका आधारमा यो ३ खर्ब ३३ करोड रुपैयाँ हो ।
 
गत असोजसम्म बैंकहरूको कुल कर्जाको साढे ९ प्रतिशत (२ खर्ब ८८ अर्ब रुपैयाँ) लगानी कृषिमा छ । बाँकी ९ महिनामा वाणिज्य बैंकले थप करिब साढे ४५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्ने देखिन्छ । जसअनुसार वाणिज्य बैंकहरूले मासिक करिब सवा ५ अर्ब रुपैयाँ कृषि कर्जा प्रवाह गर्नुपर्छ ।
 
गत असोजसम्म वाणिज्य बैंकहरूको कुल लगानी ३० खर्ब ३५ अर्ब रुपैयाँ छ । असोजयता पनि बैंकहरूको कुल लगानी बढेको छ । लगानी बढेअनुसार बैंकको कृषि कर्जामा प्रवाह गर्नुपर्ने रकम पनि बढ्नेछ ।
 
राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकले २०८० असारसम्म कुल कर्जाको न्यूनतम १५ प्रतिशत अनिवार्य रूपमा कृषिमा लगानी गर्नुपर्ने प्रावधान छ । जसमध्ये २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत र २०७९ असारसम्म १३ प्रतिशत लगानी कृषिमा गर्नुपर्नेछ । मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले कृषि कर्जा प्रवाहका लागि समय सीमा तोकिदिएको हो । 
 
यसअघि मौद्रिक नीतिमार्फत २०८० सम्म कृषिमा प्रवाह गनुपर्ने न्यूनतम सीमा मात्र तोकिएको थियो । निर्देशनअनुसार तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे राष्ट्र बैंकले कारबाही गर्ने प्रवधान छ । कान्तिपुरमा खबर छ ।