Trending :
 

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएर लाग्ने राजनीतिक दलहरुको निष्कर्ष

मंसिर २४,२०७७

-

मंसिर  २४,२०७७ काठमाडौं ।
राजतन्त्रको पक्षमा देशका विभिन्न ठाउँमा जुलुस निस्किने क्रम बढेपछि सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध लाग्ने निष्कर्ष निकालेका छन् ।
 
राजावादीहरुले दैनिकरुपमा मुख्य शहरमा जुलुस निकाल्ने क्रमसँगै सरकारको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
 
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले ओलीले जनताको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नु भएको थियो ।
 
संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकले पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधान विरोधी र हिंसात्मक गतिविधि सह्य नहुने निष्कर्ष निकालेको छ ।
 
सर्वदलीय बैठकमा कोरोनाविरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधान विरोधी गतिविधिलगायतका विषयमा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुसँग छलफल गर्नुभएको थियो ।
 
कोरोना रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सरकारले सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको बताउनुभयो । करिब ३ घण्टा गरिएको छलफलमा कोभिड १९ महामारीबीच सरकारले जनताको जीवन रक्षाका लागि काम गरिरहेको उहाँले जानकारी गराउनुभयो ।
 
बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्री ओलीलाई संविधानबाट प्राप्त उपलब्धिको रक्षाका लागि देश, जनता, विकास र स्थिरताका पक्षमा राख्नुभएको अडानबाट बिचलित नहुन आग्रह गर्दै जस्तो सुकै सहयोगका लागि पनि सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
 
सर्वदलीय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 
बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको आरोप लगाएको छ । कांग्रेस नेताहरुले भने अहिलेको सडकमा देखिएको असन्तुष्टि वर्तमान सरकारप्रति असन्तुष्टि भएको टिप्पणी गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।