Trending :
 

नेपाली श्रमिक इजरायल पठाउन प्रक्रिया सुरू

मंसिर २७,२०७७

-

मङ्सिर २७,२०७७ काठमाडौं ।
 
नेपाली श्रमिक इजरायल पठाउन गरिने आवश्यक प्रक्रिया थालिएको छ । नेपाल र इजरायल सरकारबीच गत असोजमा भएको श्रम सम्झौताअनुसार कार्यविधि तयार गरी दुई देशबीच प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । अहिलेकै जस्तो उत्साहले काम भएमा नेपाली श्रमिक इजरायल पठाउन आगामी पुसदेखि छनोट प्रक्रिया सुरु हुनेछ ।
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले इजरायलमा नेपाली श्रमिक पठाउने विषयमा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरिने बताउनुभयो । नेपाल सरकारका तर्फबाट कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर गर्ने अधिकारको मन्त्रिपरिषद्बाट टुङ्गो लागेपछि श्रमिक छनोट प्रक्रिया अगाडि बढ्ने पनि उहाँको भनाइ छ । 
 
मन्त्री यादवले भन्नुभयो, “प्रोटोकलमा हस्ताक्षर गर्ने विषय बिहीबारको मन्त्रिपरिषद्को बैठकले टुङ्गो लागेमा यो प्रक्रिया अझै छिटो हुन्छ । ”
 
नेपालबाट इजरायल सरकारले केयरगिभरका नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली श्रमिक लैजाने सम्बन्धमा गत असोजमा सम्झौता भएको थियो । नेपालका लागि इजरायलका राजदूत गोडरले नेपाल र इजरायलबीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्दै जनावरीदेखि श्रमिक छनोटको प्रक्रिया सुरु गरिने बताउनुभयो ।
 
गत असोज १४ गते इजरायलका लागि नेपालकी राजदूत अञ्जना शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच इजरायली नागरिकसरहको सेवा सुविधा दिनेगरी श्रम सम्झौता सम्पन्न भएको थियो । उक्त सम्झौता कार्यान्वयनमा आएपछि नेपालबाट धेरै सङ्ख्यामा नेपालबाट दक्ष श्रमिक इजरायल जाने छन् ।आजको नेपाल समाचारपत्रमा खबर छ ।