सुर्खेतमा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने
-
मङ्सिर ३०,२०७७ काठमाडौं ।
सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया अगाडि बढाइएको र यो काठमाडौँमा सञ्चालित मेलम्ची खानेपानी आयोजनापछिको ठूलो आयोजना भएको खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो ।
यो आयोजनाले कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत उपत्यकाको तत्कालको समस्या समाधान गर्दै ३० वर्षसम्मको खानेपानीको आवश्यकता पूरा गर्नेगरी आयोजना अगाडि बढाइएको विभागले स्पष्ट पारेको छ । आयोजनाको लागत करिब सात अर्ब रुपियाँ हुनेछ ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश राजधानीको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताउनुभयो । उहाँले खानेपानी समस्या समाधान गर्न सङ्घीय र स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने, बजेट व्यवस्थापनमा समेत तयार रहेको जानकारी दिनुभयो । आजो नेपाल समाचारपत्रमा खबर छ ।