आजदेखी लागु हुनेगरी बैङ्कहरुले ल्याए नयाँ ब्याज दर
-
पुष १,२०७७ काठमाडौं ।
चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि लागू हुनेगरी नयाँ ब्याज दर तय गरेका हुन् ।
गत साता नेपाल राष्ट्र बैङ्कले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैङ्क तथा वित्तीय संस्थाले बचतमा दिइने र ऋणमा लिइने ब्याज दरबीचको अन्तर तोकेको थियो । राष्ट्र बैङ्कले कुल निक्षेपबाहेकको ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याज दरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ । त्यसैअनुरूप नयाँ ब्याज दर आएको हो ।
एभरेस्ट बैङ्कले साधारण बचतमा २ देखि ४ प्रतिशतसम्मको ब्याज दर तोकेको छ । बैङ्कले २८ प्रकारका साधारण बचत योजना ल्याएको छ । त्यस्तै मुद्दती निक्षेपमा तीन महिनादेखि छ महिनासम्मका लागि व्यक्तिगततर्फ ५ र संस्थागततर्फ ५.५ प्रतिशत तोकेको छ ।
त्यस्तै छ महिनादेखि एक वर्षभन्दा कम अवधिका लागि ६ प्रतिशत र एक वर्षदेखि १० वर्षे अवधिका लागि ७ प्रतिशतसम्मको ब्याज दर तय गरेको छ । संस्थागत बल्क मुद्दती र संस्थागत विशेष मुद्दतीका लागि पनि ६.५ प्रतिशत ब्याजदर तोकेको छ ।
बैङ्कले सार्वजनिक गरेका तीनदेखि १० वर्षसम्मका कर्जा योजनाका लागि १०.३२ प्रतिशतदेखि १३.५७ प्रतिसम्मसम्मको ब्याज दर तोकेको छ । ती कर्जामा बेस रेट प्लस दुईदेखि बेस रेट प्लस ५ प्रतिशतसम्म पर्नेछ । आजको गोरखापत्रमा खबर छ ।