Trending :
 

चिसोले मध्यतराईको जनजीवन कष्टकर बन्दै, उपत्यकाको तापक्रम पनि घट्यो

न्यानो कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध:

पौष ०२,२०७७

-आस्था न्यूज

पुष २, २०७७ काठमाडौं ।
गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्गदर्शन २०७७’ लागू भएलगत्तै काठमाडौंमा ह्वात्तै चिसो बढेको छ ।
 
काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मंगलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
 
पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।
 
जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्धरुपमा पूर्वतयारीका कार्यक्रम शुरु भएको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना संकलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनस्र्थापनका कार्यक्रम तय गरी तयारी थालिसकेको बताएको छ ।
 
स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण संकलन गर्ने, साधनस्रोतको कमी रहेनरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ । तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा संघीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ । गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।