Trending :
 

नेकपा भित्रको आन्तरिक विवाद समाधानतिर,अध्यक्षद्धयको सहमतिमा स्थायी कमिटी बैठक ५ गते बस्ने

पौष ०२,२०७७

-

पुष २,२०७७ काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद मत्थर बनेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुईबुँदे सहमतिपछि सहमतिबाटै स्थायी कमिटीको अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ । त्यस अवधिमा दुई अध्यक्षका प्रस्तावका ठाउँमा सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यसमेत गरिने भएको छ ।
 
अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार संवैधानिक परिषद् संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशन बोलाइपाऊँ भनी राष्ट्रपति कार्यालयमा बुझाउन लगिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति भएको छ ।
 
अध्यक्ष दाहालको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भए पनि स्थायी कमिटीको अर्को बैठकअगावै सहमतिका लागि आवश्यक गृहकार्य गरिने सहमति भएको नेता नेम्वाङले बताउनुभयो ।
 
उहाँले पार्टीको सुदृढ एकताका लागि सकारात्मक आधार तयार भएको र यसकै आधारमा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न सकिने बताउनुभयो ।
 
उता कार्यकारी अध्यक्ष दाहालको सचिवालयले अध्यक्षद्वयबीच सरकारद्वारा ल्याइएको अध्यादेश र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्ने सहमति मात्र भएको स्पष्ट पारेको छ । 
 
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अर्को बैठक पुस ५ का लागि तय गरेको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
 
संवैधानिक परिषद्को बैठकमा कहिले प्रमुख प्रतिपक्षी दलका नेता त कहिले सभामुखको अनुपस्थितिले लामो समयदेखि संवैधानिक आयोगमा नियुक्ति हुन सकेको छैन । संवैधानिक आयोगको नियुक्तिलाई सहज बनाउने हिसाबले अध्यादेश ल्याउन बाध्य भएको सरकारको दाबी छ । 
 
सोही क्रममा सरकारले मङ्गलबार अध्यादेश जारी गर्न सिफारिस गरेपछि नेकपाभित्र थप विवाद भएको हो । सोही क्रममा बुधबार संसद् अधिवेशनको मागसहित नेकपाका केही सांसद राष्ट्रपतिकहाँ पुगेपछि परिस्थिति अझ गम्भीर बनेको थियो ।
 
संसद् अधिवेशनको मागसहित सांसदहरूको हस्ताक्षर लिएर नेता भीम रावल र पम्फा भुसाल दिउँसो १ बजेतिर राष्ट्रपति कार्यालय पुग्नुभएको थियो ।आजको गोरखारपत्रमा खबर छ ।