Trending :
 

उपकरण जडानको काम हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

पौष ०३,२०७७

-

पुस ३, २०७७ काठमाडौं ।
२०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न सकिने गरी काम भएको आयोजनाले जनाएको छ ।
 
निर्माण सम्झौता भएर पाँचचोटि म्याद थप गरी निर्माण अगाडि बढाइएको राष्ट्रिय गौरवको यो आयोजना पछिल्लोपटकको समय थप गरेपछि समयमा सम्पन्न गर्नमा कोरोना महामारीले समस्या उत्पन्न गरेको छ ।
आयोजनाको भौतिक प्रगति ९३ दशमलव २५ प्रतिशत भए पनि प्राविधिक क्षेत्रको उपकरण जडानको काम पूरै बाँकी रहेको छ । आयोजनालाई चाहिने पूरै उपकरण आइसकेको तर ती उपकरण जडान गर्न जुन मुलुकबाट उपकरण आएको छ त्यही मुलुककको प्राविधिक चाहिने हुँदा ती प्राविधिक नआउँदासम्म विमानस्थलको पूरा काम सम्पन्न हुन नसक्ने आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो ।
 
हालै रूपन्देही आउनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २५ दिनभित्रमा विमानस्थलको भौतिक काम पूरा गर्न निर्देशन दिनुभएको थियो । मन्त्रीलाई विदेशी प्राविधिक नआउँदासम्म आयोजनाको पूरा काम सम्पन्न हुन नसक्ने कुरा थाहा नभएको भन्दै यस विषयमा ध्यान दिई प्राविधिक ल्याउने विषयमा अगाडि बढ्न पनि आयोजनाले माग गरेको छ ।
 
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना कहरले गर्दा विमानस्थलमा प्राविधिक कामका लागि आउनुपर्ने चिनियाँ, अमेरिकन, अस्ट्रिया र थाइल्यान्डका प्राविधिक आउन नसकेकाले आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रमुख अधिकारीले बताउनुभयो ।
 
प्राविधिक आएको ९० दिनभित्रमा विमानस्थलको सबै काम पूरा भई उडान भर्न सकिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो । विदेशी प्राविधिकको आगमनमा आयोजना कहिले सम्पन्न हुने भन्ने कुरा निर्भर रहेको समेत उहाँले बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय उडान अवरुद्ध रहेको र त्यहाँको सरकारले आफ्ना नागरिकलाई देश छोड्नमा प्रतिबन्ध लगाएको अवस्थामा आयोजना कहिलेसम्म भन्दा पनि विदेशी प्राविधिक नआउँदासम्म विमानस्थलमा उपकरण जडान शुरू नै नहुने आयोजना प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो ।
 
निर्माण शुरू भएको ३ वर्षमा सक्ने गरी शुरु गरिएको आयोजना ७ वर्ष बित्न लाग्दा पनि अझै अन्योलमै रहेको छ । सन् २०२० को शुरुआतमा परीक्षण उडान गर्ने भनिएको राष्ट्रिय गौरवको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम थप समयअनुसार यही डिसेम्बरमा बाँकी काम पूरा गरेर जनवरीमा परीक्षण उडान गर्ने तयारी भए पनि उपकरण जडान हुन नसक्दा थप अन्योल बनेको छ ।
 
सन् १९५८ देखि सञ्चालित ६२ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसँगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ साल माघ १ गते अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गर्नुभएको थियो । आजको नोपल समाचारपत्रमा खबर छ ।