सरकारले कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने
-
पुष ४,२०७७ काठमाडौं ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उहाँको भनाइ थियो ।
कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्नुहुँदै उहाँले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गर्नुभयो ।
“हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छौं”, उहाँले भन्नुभयो, “कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।” खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल भइरहेको उहाँको भनाइ थियो । आजको गोरखापत्रमा खबर छ ।