नेकपा अब दुई टुक्रा, केन्द्रीय कमिटी बैठकका लागि पनि छुट्टाछुट्टै ‘म्यासेज’
-
पुस ७,२०७७ काठमाडौं ।
नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने ढकाल अर्का अध्यक्ष दाहाल निकटस्थ हुन् ।
नेकपा एकीकरणयता पार्टी कार्यालयबाट जारी हुने सम्पूर्ण सूचनामा दुवैको नाम सँगैसँगै आउने गर्थ्यो । सोमबार भने सबै केन्द्रीय सदस्यले रिजाल र ढकालका नाममा छुट्टाछुट्टै ‘म्यासेज’ पाए । पार्टी केन्द्रीय कमिटी बैठकको जानकारी दिइएको एउटै व्यहोराका दुइटा म्यासेजमा स्थान र समय फरक छ । रिजालले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारका लागि बैठकको निम्तो दिएका छन् भने ढकालले दिउँसो १ बजे कार्की ब्याङ्क्वेट बबरमहलमा उपस्थिति हुन अनुरोध गरेका छन् । यसरी आएको छुट्टाछुट्टै निम्तोलाई केन्द्रीय सदस्यहरूले पार्टी विभाजनको औपचारिक आह्वानका रूपमा बुझेका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेसँगै उत्पन्न जटिल परिस्थितिले नेकपाका नेताहरूलाई अलग्याउने लगभग निश्चित भइसकेको थियो । त्यसलाई थप पुष्टि गर्ने गरी दुई अध्यक्षले सोमबार विभाजनको छुट्टाछुट्टै पूर्वाभ्यास गरे । ओलीले बिहान आफ्नै सरकारी निवास बालुवाटारमा आफैंले विघटन गरेको प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएर दुई अध्यक्षको सहमतिबिना पार्टीले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने भन्दै त्यसो गरिए एकता भंग हुने ब्रिफिङ गरे ।
‘ममाथि अनुशासनको कारबाही हुँदै छ रे भन्ने सुन्छु, प्रचण्डले अनुशासनको कारबाही गर्नु भनेको चार्ली चाप्लिनले गर्ने प्रहसनभन्दा पनि हास्यास्पद हो,’ उनले भनेका थिए, ‘प्रचण्डले भन्दा १० वर्षअघि नै मैले पार्टी सदस्यता लिएको हुँ । मलाई कारबाही गर्ने राधाकृष्ण र सीपी मैनालीहरूको हालत कस्तो छ, स्पष्ट नै छ ।’ तर आफ्नो पक्षमा रहेका नेताहरूको हिसाबकिताब राख्न प्रधानमन्त्री ओलीले मंगलबार बिहान केन्द्रीय कमिटीको बैठक आह्वान गरेका हुन् ।
बैठकमा उपस्थित हुने केन्द्रीय सदस्यहरूलाई गनी त्यही आधारमा पार्टीले आफूलाई अनुशासनको कारबाही गरेर प्रधानमन्त्रीबाट फिर्ता गर्ने निर्णय गर्नुअघि नै दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने सम्भावना छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र पार्टीको केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत सदस्य संख्या भए मात्रै दल विभाजन गर्न सकिने व्यवस्था छ । यसअघि गत वैशाख ८ मा अध्यादेश ल्याउँदा प्रधानमन्त्री ओलीले दुईमध्ये एक ठाउँमा ४० प्रतिशत भए दल विभाजन गर्न सकिने प्रावधान राखेका थिए ।
अहिले ओलीले नै प्रतिनिधिसभा भंग गरेकाले उनले केन्द्रीय कमिटीको मतका आधारमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुपर्ने हुन्छ । त्यसैको तयारीका लागि मंगलबार बिहान उनले केन्द्रीय कमिटी बैठक डाकेका हुन् ।
नेकपामा ओलीको पक्षमा ३० देखि ३५ प्रतिशत केन्द्रीय सदस्य रहेको अनुमान छ । त्यसकारण उनले ३० प्रतिशत केन्द्रीय सदस्य भए दल विभाजन गर्न सकिने अध्यादेश जारी गर्ने सम्भावना उच्च रहेको ओली निकटस्थहरूको भनाइ छ ।
यता दाहाल–नेपाल समूहले ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्ने निर्णय गरेको व्यहोराको निवेदन निर्वाचन आयोगमा दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोगमा दर्ता गरेको निवेदनमा ओलीले पार्टी विधानविपरीत काम गरेकाले कारबाही गरेको उल्लेख छ । नेकपाको दाहाल–नेपाल पक्षमा स्थायी र केन्द्रीय दुवै कमिटीमा ६० प्रतिशतभन्दा धेरै सदस्य छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।