Trending :
 

एकीकरणको साढे दुई वर्षमै नेकपा विभाजित

पौष ०८,२०७७

-

पुस ८,२०७७ काठमाडौं ।
सरकारले संसद् विघटन गरेसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एकीकरण भएको साढे दुई वर्षमै विभाजित भएको छ ।
 
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएको थियो । तर पार्टी एकताको कामले पूर्णता नपाउँदै संसद् विघटन प्रकरणले समानान्तर केन्द्रीय कमिटीको बैठक गर्दै दुवै समूहले औपचारिक विभाजनको सन्देश दिएका छन् । संसारमै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको नेकपा आन्तरिक विवादका कारण विभाजितको बाटोमा पुगेको हो ।
 
मंगलबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूह र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टीमा आ-आफ्नै वैधता रहेको दाबी गरेका छन् ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको भेलाले प्रचण्ड-नेपाल समूहको बैठकले वैधानिकता नपाउने दाबी गरेको छ भने यता प्रचण्ड-नेपाल पक्षले बहुमत केन्द्रीय सदस्य आफूहरुको पक्षमा रहेको दाबी गर्दै बालुवाटारको भेलाको अर्थ नभएको बताएको छ ।
 
दुवै समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका बारेमा पत्राचारसमेत गरिसकेका छन् । संसद् विघटन गरेपछि सोमबार नै प्रचण्ड–नेपाल पक्षले स्थायी समिति बैठकले गरेको निर्णयअनुसार अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको थियो । 
 
मंगलबार बसेको ओली पक्षको केन्द्रीय समितिको बैठकले केन्द्रीय कमिटीको पुनर्गठन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । नेकपाभित्र कुन समूहले वैधानिकता पाउने भन्ने विवाद निर्वाचन आयोगमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।