युवाहरुद्धारा तरकारी र फलफूल मण्डी सञ्चालन
-
पुस ९,२०७७ काठमाडौं ।
कृषिमा युवालाई आकर्षित र कृषि कर्मलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ चितवनका युवाले फलफूल तथा तरकारी मण्डी सञ्चालनमा ल्याएका छन् ।
भरतपुर महानगरपालिका-१० स्थित जिल्ला प्रशासन कार्यालय नजिकै भरतपुर माविको जग्गा भाडामा लिएर युवाले तरकारी मण्डीको स्थापना गरेका हुन् ।
मन्डी सञ्चालक समितिका सचिव साजन अधिकारीका अनुसार भरतपुर माविको जमिन १० वर्षका लागि भाडामा लिएर हाल ४४ वटा व्यापारिक स्टल बनाएर भाडामा दिइएको छ ।
प्रत्येक स्टलमा तरकारी राख्ने जमिनभन्दा माथि उठाएका ट्रेहरु बनाइएका छन् । सचिव अधिकारीका अनुसार व्यवसायीमध्ये अधिकांश वैदेशिक रोजागारीबाट फर्केका युवा छन् ।
आठ करोड रुपियाँ लगानी गर्ने लक्ष्यका सुरु भएको उक्त मण्डी भरतपुर महानगरपालिका वडा नं। ९, १०, ११ र १२ का बासिन्दालाई लक्षित गरी सञ्चालनमा ल्याइएको बताइएको छ ।
१० हजार वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त मण्डीसँगै व्यवस्थित डिपार्टमेन्टर स्टोर बनाउने तयारी रहेको पनि सचिव अधिकारीले जानकारी दिनुभयो । ७७७ जना सदस्य रहेको कृषि सहकारी सञ्चालन गर्ने र उक्त सहकारीले कृषि उपज उत्पादन र बिक्री गर्ने लक्ष्य रहेको अधिकारीले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।