नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस
-
पुस १२,२०७७ काठमाडौं ।
नेपालमा ६० वर्षमा विभिन्न बालीका ६८९ जातका बीउ सिफारिस भएका छन् । हिमाल, पहाड र तराईमा लगाउन ७७ बालीका बीउ सिफारिस भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बीउबिजन निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्याङ्कअनुसार सरकारले २०१७ देखि विभिन्न बालीको बीउ उन्मोचन, सिफारिस र दर्ता भएको छ । सबैभन्दा पहिले मध्यपहाडी क्षेत्रका लागि २०१७ सालमा गहुँको लेर्मा ५२ नामक जातको बीउ उन्मोचन भएको हो । त्यो जातको बीउ अझै पनि किसानले प्रयोगमा ल्याइरहेका छन् ।
तरकारी बढी
२०१७ देखिको सिफारिस क्रममा २०७७ मा मात्रै धान, मकै, गहुँ, पालुङ्गोका विभिन्न १७ वटा जात सिफारिस भएका छन् । यसबीचमा सबभन्दा बढी तरकारी बालीको बीउ उन्मोचन भएको पाइएको छ । त्यसपछि वर्षे धान र सबभन्दा कम फापरको हालसम्म एउटा जात मात्र उन्मोचन भएको छ । तरकारीका २९८ र वर्षे धानको १२९ जात उन्मोचन भएको निर्देशनालयले जनाएको छ ।
धानमा पनि चैते धानको छ, मकैको ९४, गहुँको ३२, कोदोको पाँच, जौको छ, दलहन बालीको ४३, तेलहन बालीको २१, औद्योगिक बालीको १२, आलुको १६, घाँसे बालीको १७, फलफूल बालीको सात, सखरखण्डका दुईवटा जातका बीउ उन्मोचन भएका छन् । आजको गोरखापत्रमा खबर छ ।