Trending :
 

नेपाल एयरलाइन्समा एक यात्रु संक्रमित, सँगै आएका ५४ जनालाई क्वारेन्टाइनमा राखियो

पौष १६,२०७७

-

पुस १६, २०७७ काठमाडौं ।
मलेसियाबाट आएको नेपाल एयरलाइन्सले बुधबार कोरोना पोजिटिभ भएका एक यात्रुलाई काठमाडौं ल्याएको छ । १ सय ४५ यात्रु लिएर आएको विमानले रिपोर्ट पोजिटिभ भएका रौतहटका एक युवालाई ल्याएको हो । स्वास्थ्य सेवा विभागको हेल्थ डेस्कमा जाँच गर्ने क्रममा उनले रिपोर्ट पोजिटिभ देखाएका थिए ।
 
जहाज चढ्नु ७२ घण्टाअघि कोरोना परीक्षण गरेर नेगेटिभ आएको यात्रु मात्रै जहाजमा चढाउनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । यही अभ्यासअनुसार विदेशबाट आउने सबै यात्रुले पीसीआर गर्नुपर्ने हुन्छ । रिपोर्ट नेगेटिभ आएकालाई मात्रै जहाज चढाउनुपर्थ्यो तर नेपाल एयरलाइन्सको आरए ४१६ जहाजले बुधबार मलेसियाबाट पीसीआर रिपोर्ट पोजिटिभ देखिएको यात्रुलाई समेत ल्याएको हो । पीसीआर रिपोर्ट हेर्दा पोजिटिभ देखिएपछि उनलाई टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
 
अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले मलेसियाबाट पोजिटिभ भएर आएकालाई भर्ना गरिएको बताए । ‘कुनै लक्षण नभएका संक्रमितको अवस्था सामान्य छ,’ उनले भने, ‘भर्ना गरेर स्वाब परीक्षण गर्न ल्याबमा पठाइसकिएको छ । रिपोर्ट आउन बाँकी छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।