हेटौँडा र काठमाडौँ जोड्ने मातातीर्थ-कुलेखानी सडक निर्माण तीव्र
-
हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो कुलेखानी-मातातीर्थ सडक खण्डको स्तरोन्नति भइरहेको छ ।
हेटौँडा र काठमाडौँ जोड्ने सडकको कुलेखानी-देउराली-मातातीर्थ–सतुङ्गल सडक खण्डको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक चौडा गर्ने र आवश्यक संरचना निर्माण भइरहेको हो । हेटौँडालाई छोटो दूरीले काठमाडौँ जोड्ने यो सडक ६१ किलोमिटर लामो छ ।
यसमध्ये मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभानदेखि काठमाडौँ जिल्लाको सतुङ्गलसम्म १५ किलोमिटर दूरीको सडक खण्डको स्तरोन्नति लगायतको काम बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयबाट भइरहेको छ ।
यातायात पूर्वाधार निर्देशनालयका प्रवक्ता हरिप्रसाद ओझाले यो आयोजनाको दुवै जिल्लातर्फ सडक चौडा गर्ने, टेवा पर्खाल निर्माण र ढल व्यवस्थापन लगायतका काम भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वाधार विकास कार्यालय, ललितपुरले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८, सतुङ्गलदेखि मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५, मकैबारीसम्म र पूर्वाधार विकास कार्यालय, चितवनले इन्द्रसरोवर गाउँपालिका–५ मा पर्ने महालक्ष्मी दोभान–चखेल–मकैबारी खण्डको निर्माणको काम हेर्ने छ ।
महालक्ष्मी–दोभान–चखेल–मकैबारी खण्डको सडक निर्माण २०७९ जेठ १६ गतेभित्र सम्पन्न गर्ने गरी गत असार १७ गते सम्झौता भएको थियो । सोही सम्झौताअनुसार यही पुस ३ गते शिलान्यास भएपछि कामले गति लिएको हो । आजको गोरखापत्रमा खबर छ ।