मध्यपहाडी लोकमार्गः बागलुङ खण्डको ९२ किलोमिटर कालोपत्रे सम्पन्न
-
पुस २७,२०७७ काठमाडौं ।
राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी पुष्पाल लोकमार्ग बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे गरिएको छ । लोकमार्गले सबैभन्दा बढी दूरी ओगटेको जिल्ला बागलुङ हो । कुल १३२ किलोमिटर सडकमध्ये ९२ किलोमिटर कालोपत्रे गरिएको छ । बाँकी ३७ किलो मिटर सडक कालोपत्रेको अन्तिम तयारीमा रहेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो ।
बागलुङ सदरमुकाम बागलुङ बजारको उपल्ला चौरदेखि काठेखोला गाउँपालिका-५ घोडाबाँधेसम्मको २५ किलोमिटर, बूर्तिवाङ-पातीहाल्ने सडक खण्डको १० किलो मिटर सडकमा कालोपत्रेको तयारी भैरहेको छ ।
उक्त खण्डमा ठेकेदार कम्पनीले पहरो काट्ने, नाली निर्माण, कालोपत्रेको लागि क्रसर सञ्चालन, कच्चा पदार्थको उत्खनन, सडक चौडा पार्ने तथा बेस निर्माणको काम भैरहेको मध्यपहाडी लोकमार्ग कार्यालयका इन्जिनियर उज्जल शर्माले बताउनुभयो ।
बागलुङ बजार क्षेत्रको मालढुङ्गादेखि उपल्लाचौर खण्ड पनि मध्यपहाडी लोकमार्ग भित्र पर्ने भए पनि त्यसको विषयमा कुनै काम अघि नबढेको कार्यालय प्रमुख मरासिनीले बताउनुभयो ।
उक्त क्षेत्रमा ठुलो र कडा चट्टान तथा चट्टानमाथि र तल मानवीय बस्ती भएको हुँदा स्रोत, साधन र जनशक्तिको सुश्चित भए पछि मात्रा सो खण्डको काम हुने उहाँको भनाइ छ । बूर्तिवाङ बजार क्षेत्रमा सडक विस्तारको लागि घरधनीलाई दिनुपर्ने क्षतिपूर्तिका काम अघि बढेको छ । आजको गोरखापत्रमा खबर छ ।