नेकपाका दुवै समूहद्धारा तानातानमा कांग्रेस, औपचारिक विभाजन नभएसम्म नमिल्ने देउवाको भनाइ
-
माघ २,२०७७ काठमाडौं।
नेकपाका दुवै समूहले सत्ता, सडक र निर्वाचनसम्ममा सहकार्य गर्न प्रस्ताव राख्दै आए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले अझै केही समय ‘पर्ख र हेर’ कै अवस्थामा पार्टीलाई राख्ने मनस्थिति बनाएका छन् । औपचारिक रूपमा विभाजन नभएसम्म नेकपाको एउटा नेतृत्वलाई विस्थापित गरेर अर्को नेतृत्वलाई स्थापित गर्ने एजेन्डामा कांग्रेस सहयोगी हुन नमिल्ने देउवाको भनाइ छ ।
निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा कांग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरूमा छ । नेकपाको विभाजनले केन्द्रमा मात्रै नभई प्रदेश सरकारमा पनि कांग्रेस निर्णायक देखिएको छ ।
प्रदेश १ र वाग्मतीमा नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले केपी शर्मा ओली पक्षीय मुख्यमन्त्री क्रमशः शेरधन राई र डोरमणि पौडेललाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराइसकेको छ । ओली पक्षकै मुख्यमन्त्री गण्डकीका पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ । एकरदुई सांसद मात्रै तलमाथि रहेका यी प्रदेशमा दाहाल–नेपाल पक्षले कांग्रेसको निर्णय पर्खेको छ ।
प्रदेश १ मा माघ ७ गतेका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ । दुवै प्रदेशमा सरकार जोगाउन ओली र परिवर्तन गर्न दाहाल–नेपाल समूहले नै कांग्रेसकै साथ खोजिरहेका छन् ।कांग्रेस नेता रामशरण महतले औपचारिक रूपमा नेकपा विभाजन भइनसकेकाले प्रदेशमा पनि कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे पार्टीको एउटै नीति बन्न नसक्ने बताए । ‘पार्टी विभाजन भएको भए यो दलसँग मिलेर सरकार बनाउने भन्ने हुन्थ्यो ।
त्यस्तै स्थिति अहिले छैन,’ उनले भने, ‘स्थानीय अवस्था र पार्टीको हितलाई केन्द्रमा राखेर निर्णय लिन्छौं ।’ सहमहामन्त्री प्रकाशशरण महतको धारणा पनि त्यस्तै छ । ‘नेकपाका दुवै समूह उस्तै हुन्, मुख्य कुरा पार्टीको हित र स्थानीय आवश्यकतालाई हेर्ने हो,’ उनले भने, ‘त्यही आधारमा छलफल हुन्छ, समय आएपछि पार्टीले निर्णय लिन्छ ।’
जुन पक्षले कांग्रेसलाई आकर्षक प्रस्ताव ल्याउँछ, उसैलाई साथ दिन सक्ने संकेतसमेत कांग्रेस नेताहरूले गरिरहेका छन् । कांग्रेस नेता रमेश लेखकले अविश्वासको प्रस्ताव परिपक्वता र त्यसमाथिको छलफलले अझै लामै समय लिन सक्ने भएकाले अहिल्यै निर्णयमा पुगिहाल्न नहुने बताए । ‘अलग–अलग दृष्टिकोणभन्दा सकभर एउटै दृष्टिकोण बनाउँदा राम्रो हुन्छ, त्यसका लागि अहिल्यै निर्णयमा पुगिहाल्नु अपरिपक्व हुन्छ,’ उनले भने, ‘दुवैको तानातानमा हामी फस्नु हुन्न ।’
प्रतिनिधिसभा पुनःस्थापना भए संघीय सरकार निर्माणमा पनि कांग्रेस नै निर्णायक बन्ने देखिएकाले ओली र दाहाल–नेपाल दुवै समूहले कांग्रेससँग आकर्षक प्रस्ताव राख्ने गरेका छन् । प्रधानमन्त्री ओलीले त आफ्नो कदममा कांग्रेसको साथ रहँदै आएको बताउँदै आएका मात्रै छैनन्, प्रतिनिधिसभा पुनःस्थापना भइहाले पनि कांग्रेसको नेतृत्वमै सरकार बन्ने भन्दै देउवालाई प्रधानमन्त्रीको ‘कार्ड’ फालिसकेका छन् । प्रतिनिधिसभा विघटनको केही दिनपछि नेकपाको भ्रातृसंस्था अखिल नेपाल महिला संघका कार्यकर्तासँगको भेटघाटमा ओलीले त्यस्तो कार्डबारे सार्वजनिक गरेका थिए ।
त्यसलगत्तैदेखि दाहाल–नेपालले देउवालाई भेट्न तारन्तार प्रयास गर्दै आएका थिए । दाहाल पत्नी सीताको उपचारमा भारत जानुअघिदेखि नै देउवासँग भेट्ने प्रयास भएको थियो । त्यतिबेला देउवाले आलटाल गरेका थिए । दाहाल भारतबाट फर्किपछि देउवाले सहयोगी रमेश लेखकलाई साथमा राखेर उनीहरूसँग गोप्य रूपमा भेटघाट गरेका थिए ।
‘उहाँहरूले भेट्नका लागि तारन्तार फोन गरेपछि नभेट्ने कुरा भएन । सभापतिजीले भेटघाट गर्नुभएको हो,’ लेखकले भने, ‘भेटमा प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा संयुक्त आन्दोलन र सहमतिका साथ पछिसम्म सहकार्य गर्ने प्रस्ताव उहाँहरूले ल्याउनुभएको थियो ।’
प्रधानमन्त्रीकै प्रस्ताव भने दाहाल र नेपालबाट नआएको लेखकले दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।