उखु किसानले अन्दोलनपछि चिनी उद्योगबाट साढे ४७ करोड भुक्तानी पाए
-
माघ ६, २०७७ काठमाडौं ।
सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन्। उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २२ दिन पूरा भएको छ ।
उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट रु साढे ४७ करोड भुक्तानी पाएका हुन्।
सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ। रु ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले रु साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी ग¥यो ।
त्यसपछि मात्र भुक्तानी उठेको हो। माघ ४ गते साँझसम्म करीब रु साढे ४७ करोड भुक्तानी भएको छ। श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले रु ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ । आजको गोरखापत्रमा खबर छ ।