जाँचपास नभएपछि बिदेशबाट आयात गरिएको ५० हजार बोरा मल अलपत्र
-
माघ १३,२०७७ काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेसनले बिदेशबाट आयात गरिएको ५० हजार बोरा डिएपी मल नहुँदा पाँच महिनादेखि थन्किएको छ । गएको भदौ ६ गते वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) मा आएर ७ गते अनलोड गरिएको भए पनि जाँचपास भएको थियो।
आपूर्तिकर्ता स्वीस सिंगापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेसनले भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा ल्याईसकेको ५० हजार बोरा डिएपी मल भिजेर जाँचपास गर्न अयोग्य रहेको भनी सुख्खा बन्दरगाह (ड्राईपोर्ट) भन्सारले जाँचपास नगरेपछि बिगत पाँच महिनादेखि भन्सारमा यत्रतत्र छरिएर रहेको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन वीरगञ्जका प्रमुख अमोज लामिछानेले सिंगापुरबाट पानीजहाजमार्फत भारतको कोलकत्ता बन्दरगाहमा ल्याएर राखिएको अवस्थामा बितेको असाररसाउन महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’आँधीले कोलकत्ता बन्दरगाहमा नै मल भिजेको बताउनुभयो । भिजेकै मल रेलमार्ग हुँदै वीरगञ्ज आईपुगेको उहाँले जानकारी दिनुभयो ।
सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भिजेर बिग्रिएको अवस्थामा मल आएकाले जाँचपास नभएको रहेछ कुनै प्रयोग गर्न योग्य भए जाँच गरेर मात्र जाँचपास गरिने अन्यथा सबैलाई नष्ट गरिने बताउनुभयो ।
रेल लिकको छेउ, छाऊ र भन्सार गोदाम एवम् अन्य खाली ठाँउमा यत्रतत्र छरिएर रहेका भिजेर बिग्रिएका उक्त डिएपी मलका बोराले अन्य कार्य गर्नमा समेत बाधा अवरोध भइरहेको बन्दरगाह सञ्चालनको जिम्मा लिएको भारतीय कम्पनी प्रिस्टाईन भ्यालीका सञ्चालक सदस्य विकास शर्माले गोरखापत्रलाई बताउनुभयो ।
ठूलो परिमाण भएकाले बिग्रिएका सबै मललाई नष्ट गर्न समेत समस्या पर्ने सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्री बताउनुहुन्छ । अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको र त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्ने भएकाले नष्ट गर्ने प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो ।
सुरुका दिनमा ४३ वटा बेगन (रेलको डिब्बा) मा आएको ५० हजार बोरा उक्त डिएपी मलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको भनिए पनि केही बोरा मात्र काम लाग्ने अवस्थामा रहेको र बाँकी सबै कामै नलाग्ने अवस्थामा रहेको थियो तर भन्सारमा नै रहँदा सबै बोरा बिग्रिसकेको बताइएको छ । आजको गोरखापत्रमा खबर छ ।