Trending :
 

कोरोनाविरुद्धको खोप अभियान आजदेखिः पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइने

माघ १४,२०७७

-

माघ १४, २०७७ काठमाडौं ।
 
कोरोनाविरुद्धको खोप अभियान सुरु हुनु अघिल्लो दिन मात्रै सरकारले आवश्यक तयारी पूरा गर्न भन्दै प्रदेशमा बजेट पठाएको छ । खोप लगाउनुअघि नै गर्नुपर्ने कामको बजेट बल्ल पठाइएको हो ।
 
भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।
 
काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइनेछ । पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाउँदै छन् । ‘कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन सुरुमै खोप लगाउन लागेको हुँ,’ उनले भने, ‘यो सुरक्षित छ, भ्याक्सिन लगाएर आफू मात्र होइन, अरूलाई पनि बचाउन सकिन्छ । म खोप लगाउन उत्साहित छु ।’
 
शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।
 
यही अस्पतालमा रहने खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ । 
 
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने भएका छन् । यहाँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला नेत्र अध्ययन केन्द्रका ३ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीले पनि खोप लगाउने छन् ।
 
कान्ति बाल अस्पताल, चिरायु अस्पताल र ईशान बाल अस्पतालका स्वास्थ्यकर्मीले पनि टिचिङ अस्पतालमै खोप लगाउने गरी केन्द्र निर्धारण गरिएको छ । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा ५ सयभन्दा बढीले खोप लगाउँदै छन् । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।
 
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख तारानाथ पोखरेलले खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको बताए । खोप जिल्ला तहमा पुगिसकेकाले कुनै समस्या नभएको उनले दाबी गरे । ‘खोप लगाउन आवश्यक सामग्रीको जोहो गर्न, तालिम चलाउन र पारिश्रमिकको समेत बजेट पठाइसकेका छौं,’ उनले भने ।
 
सरकारले ९ शीर्षकमा खर्च गर्न सकिने गरी ३७ करोड बजेट प्रदेशमा पठाएको हो । प्रदेश १, २, वाग्मती र कर्णाली प्रदेशमा ६ करोडको दरले, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ४ करोडको दरले बजेट पठाइएको छ । लुम्बिनी प्रदेशमा ५ करोड बजेट पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । 
 
खोपबारे जानकारी दिन स्थानीय रेडियोरटेलिभिजनबाट सन्देशमूलक सामग्री प्रसारण गर्न, माइकिङ, र्‍याली र अन्तरक्रिया गर्नर्पुर्ने नीति मन्त्रालयले तय गरेको छ ।
 
७७ जिल्लाका लागि ७८ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ । तर बजेटअनुसार न कुनै कार्यक्रम गर्न सकियो न त प्रचारप्रसार नै । प्रदेशले जिल्ला तहमा छुट्याइएको बजेट पठाउनेछ । प्रचारप्रसार गर्न भन्दै प्रदेश १ मा सबैभन्दा बढी १७ लाख ९० हजार पठाइएको छ । 
 
सबैभन्दा कम कर्णालीमा ६ लाख २५ हजार विनियोजन गरिएको छ । खोप लगाउनुअघि नै गर्नुपर्ने कामको बजेटसमेत खोप लगाउने अघिल्लो प्रदेश तहमा पुगेको हो । खोपको अनुगमन जिल्ला र स्थानीय तहले गर्नेछन् । केन्द्रमा सहजीकरण गर्न स्वयंसेवक खटाइँदै छ । 
 
आजको कान्तिपुरमा खबर छ ।