प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दामा बहस लम्बिएपछि समय समन्वय गर्न आग्रह
-
माघ १४, २०७७ काठमाडौं ।
अब निवेदकसँग समन्वय गरेर यति घण्टामा बहस सक्छौँ भनेर प्रतिबद्धता माग्नुपर्ने भयो ।
निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ ।
सोमबार दिउँसोबाट बहस प्रारम्भ गर्नुभएका वरिष्ठ अधिवक्ता शम्भु थापाले मङ्गलबार पनि दैनिक खाजा समयअघिसम्म बहस गर्नुभएपछि इजलासले निवेदकबीच समयका लागि समन्वय गर्न आग्रह गरेको हो । आइतबार दिउँसोबाट नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट दर्ता भएको निवेदनमा बहस प्रारम्भ भएको थियो । तीन दिनसम्म निवेदक पक्षबाट पाँच जनाले मात्र बहस गरेका छन् ।
मङ्गलबार थापाले बहस सकेसँगै न्यायाधीश अनिलकुमार सिन्हाले निवेदकसँग समन्वय गरेर समय व्यवस्थापनको अवस्था आएको बताउनुभयो । वरिष्ठ अधिवक्ता थापाले श्रीमान्हरूलाई पट्यार लाग्यो होला भन्ने प्रसङ्ग निकालेपछि सिन्हाले सो धारणा राख्नुभएको हो । यसअघि पनि सिन्हाले लामो बहस गरेर निवेदनको औचित्य नै सकिने अवस्था ननिम्त्याउन कानुन व्यवसायीलाई आग्रह गर्नुभएको थियो । ‘‘अब निवेदकसँग समन्वय गरेर यति घण्टामा बहस सक्छौँ भनेर प्रतिबद्धता माग्नुपर्ने भन्ने अवस्था आयो’’, इजलासमा न्यायाधीश अनिलकुमार सिन्हाले भन्नुभयो ।
विघटनविरुद्ध १३ वटा रिट दर्ता भएकोमा आइतबारदेखि आठौँ निवेदनमा बहस प्रारम्भ भएको थियो तर तेस्रो दिनसम्म सोही रिटमा बहस जारी छ । रिटका पक्षबाट पाँच जना कानुन व्यवसायीले हालसम्म बहस गर्नुभएको छ । पक्षमा बहसका लागि ६६ जनाको वकालतनामा परेको छ । सबै मुद्दामा कुल ३१४ कानुन व्यवसायीको वकालतनामा छ । सरकारी वकिल र एमिकस क्युरीका तर्फबाट बहसमा जानेको सङ्ख्या कम्तीमा १५ हुनेछ ।
गुरुङका तर्फबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वअध्यक्ष हरिहर दाहाल, पूर्वमहासचिव रमनकुमार श्रेष्ठ, वर्तमान बारका पदाधिकारीलगायतको वकालतनामा छ ।आजको गोरखापत्रमा खबर छ ।