अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार, फागुनदेखि प्रिपेड कार्ड जारी हुने
-
माघ १६,२०७७ काठमाडौं।
विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ ।
मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुुभयो । “सबै तयारी तोकिएकै समयमा पूरा भएमा फागुनदेखि प्रिपेड कार्ड कार्यान्वयनमा आउनेछ,” उहाँले भन्नुभयो । नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैङ्कले अनलाइनमार्फत विदेशबाट सेवा आयात गर्दाबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।
कार्डको प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको पढाइ, तालिम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरिद गर्न, डोमेन दर्ता तथा वेब होस्टिङ गर्न डलरमा पैसा तिर्ने सकिनेछ । स्वास्थ्य र निरोगी रहन सहयोग पु¥याउने विभिन्न एपहरूको माग गर्न, विभिन्न जर्नल तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय पुस्तकहरू खरिदका लागि समेत सानोतिनो रकम तिर्न पनि नयाँ व्यवस्थाले सहज बनाउने भएको छ । राष्ट्र बैङ्कले बढीमा ५ सय डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न लागेको छ ।
पछिल्लो समयमा फेसबुक, ट्विटर, युटुब गुगलजस्ता माध्यमबाट गरिने विज्ञापन लगायतका भुक्तानीको प्रचलन बढ्दै गएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको मिश्रले जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।