Trending :
 

नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विश्वविद्यालय निर्माण सुरु

माघ १६,२०७७

-

माघ १६,२०७७ काठमाडौं।
नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माण सुरु गरिएको छ । काभ्रेको बनेपा नगरपालिका–१३ र १४ मा रहेको पेरुङ्गे डाँडामा विश्वविद्यालय निर्माणको काम सुरु गरिएको हो ।
 
सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । विश्वविद्यालय निर्माणको काम अन्र्तगत परामर्शदाता कम्पनीले विश्वविद्यालयको डिपिआर तयार गरिसकेको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) प्रतिवेदन भने तयार गर्न बाँकी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायकरथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिनुभयो । यसैगरी, हालसम्म विश्वविद्यालय हाताभित्र रहने २।६ किलोमिटर ग्राभेलिङ सडक निर्माण कार्य अन्र्तगत पुस मसान्तसम्म ४५ प्रतिशत सडक निर्माणको काम सम्पन्न भएको छ ।
 
पहिलो चरणमा आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको विश्वविद्यालय परिसरमा रहने एक हजार ३८० मिटर पर्खाल तथा एक लाख लिटर क्षमताको भूमिगत पानी ट्याङ्की निर्माण तथा डिप बोरिङ्ग निर्माणको काम करिब ७० प्रतिशत सम्पन्न भएको छ । विश्वविद्यालयमा आवश्यक पर्ने थ्री फेज विद्युत प्रशारण लाइन विस्तारको काम नेपाल विद्युत प्राधिकरण बनेपा शाखामार्फत् भइरहेको छ भने विश्वविद्यालय निर्माणस्थलमा रहेका एक हजार १०५ वटा रुखमध्ये पुस मसान्तसम्म ४०४ रुख कटान भैसकेको नेपाली सेनाले जनाएको छ ।
 
सेनाले विश्वविद्यालयको आधारभूत साङ्गठनिक संरचनाको साथै सो संरचना अनुरुप रहने संकाय अध्ययन, अध्यापनको विषयहरु छनौट गरी पाठ्यक्रम विकास सुरु भएको जनाएको छ । उक्त कार्यका लागि विभिन्न विषयका चार जना विज्ञहरु करारमा भर्ना गरी पाठ्यक्रम विकासको काम अघि बढाइएको छ । विश्वविद्यालयको विधेयकरविधान मस्यौदा कार्यदलले विधेयकको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको सैनिक प्रवक्ता समेत रहनुभएका पौड्यालले बताउनुभयो ।
 
उहाँले विश्वविद्यालयको विस्तृत आधारभूत साङ्गठनिक संरचना तयार गर्ने र विश्वविद्यालयको स्थापना, व्यवस्थापन तथा सञ्चालन सम्बन्धी अन्तिम अवधारणापत्र तयार गर्ने काम भइरहेको बताउनुभयो ।
 
विश्वविद्यालय निर्माणको लागि २०७६ मङ्सिर ३० गतेको मन्त्रिपरिषद्को बैठकले पेरुङ्गे सामुदायिक वन क्षेत्रको ७५० रोपनी जग्गा नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरेको थियो । आजको गोरखापत्रमा खबर छ ।