तीनकुने-जडीबुटी सुरुङमार्ग निर्माण गर्न अध्ययन सुरु
-
माघ २०,२०७७ काठमाडौं ।
राजधानीको तीनकुनेदेखि जडीबुटीसम्म सुरुङमार्ग निर्माण गर्न अध्ययन थालिएको छ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राजधानीको सडक व्यवस्थापनको ठूलो समस्याका रूपमा रहेको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रको ट्राफिक जाम हटाउन सो क्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने निष्कर्षमा पुगी अध्ययन सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरुङमार्ग बनाउने निष्कर्षमा पुगिए पनि सुरुङमार्ग चार वा छ लेन, कति लेनको बनाउनेबारे टुङ्गोमा पुग्न बाँकी छ ।”
तीनकुनेदेखि जडीबुटीसम्म बन्ने करिब आठ सय मिटर लामो सुरुङमार्ग निर्माण गर्न अहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले आफ्नै खर्चमा सम्भाव्यता अध्ययन गरिरहेको महाशाखा प्रमुख थापाले बताउनुभयो ।
तीनकुने–जडीबुटी सडकको समानान्तर हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिनमुनि सुरुङमार्ग निर्माण गर्न अध्ययन अगाडि बढाइएको हो । सुरुङमार्ग निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण सकारात्मक रहेको उहाँको भनाइ छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सडक विभागसँग सहकार्य गरेर सडक निर्माण गरिने बताउनुभयो । भौतिक रूपमा पनि सम्भव रहेको बताउँदै उहाँले विमानस्थलको धावन मार्गबाट नभई सडकको छेउबाट सडक बन्ने हुँदा समस्या नभएको स्पष्ट गर्नुभयो ।आजको गोरखापत्रमा खबर छ ।