Trending :
 

अमलेखगन्ज-लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा

माघ २२,२०७७

-

माघ २२,२०७७ काठमाडौं ।
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइप लाइनको प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुुगेको छ । नेपाल आयल निगमको प्राविधिक कमिटीले अध्ययन प्रतिवेदन तयारी अवस्थामा रहेको जनाएको छ । प्रतिवेदनका आधारमा थप काम अघि बढाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
 
मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइनलाई विस्तार गरी चितवनको लोथरसम्म ल्याइने छ । त्यहाँ भण्डारण पनि निर्माण गरिनेछ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे गरेको थियो । पाइप लाइन र जग्गाको सर्भे सकिएको छ । अब डीपीआर निर्माण प्रक्रियामा अघि बढ्ने निगमले जनाएको छ ।
 
निगमका अनुसार ६५ किलोमिटर लामो अमलेखगन्ज–लोथर पाइप लाइनको नक्साङ्कन गरिएको रुटको प्राविधिक अध्ययन गरिएको छ । नक्सा तथा लेआउटको काम सकिएको छ । डीपीआरलगायत आयोजनाको मोडालिटीबारे भारतसँग छलफल गरिने प्रवक्ता उपाध्यायले जानकारी दिए । लोथरमा एक लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण गरिने छ ।
 
त्यस्तै, सिलगुढी–झापा पेट्रोलियम पाइप लाइन परियोजनाको प्राविधिक प्रतिवेदन पनि अन्तिम चरणमा रहेको छ । डिटेल इन्जिनियरिङ सर्भे सपन्न भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको संयुक्त प्राविधिक अध्ययन टोलीले सर्भे गरेको हो । सर्भेले झापाको चारआलीदेखि मेचीभन्सार हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइप लाइनको रुट पहिचान गरेको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।