Trending :
 

दलहरुको मुठभेडले अब तीन वर्षयताको सडकको शान्ति बाँकी रहेन

माघ २३,२०७७

-आस्था न्यूज

दलहरुको मुठभेडले अब तीन वर्षयताको सडकको शान्ति बाँकी रहेन
माघ २३,२०७७ काठमाडौं ।
 
नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार सुरक्षाकर्मीसहितको गाडीमा सातदोबाटो-पुल्चोक-कोटेश्वर गरिरहँदा कतिपय ठाउँमा सुरक्षाकर्मी र अन्य ठाउँमा उनकै कार्यकर्ताले अवरोध गरेका कारण साधन हुने यात्रुले निर्धक्क यात्रा गर्न पाएनन्, नहुनेले पैदलै यात्रा गरे ।
 
बन्दका कारण ज-जसले दुःख पाए, ती मतदाता पक्कै हुन् तर कसैका खास कार्यकर्ता थिएनन् । बन्द गराउन खटिएका नेता–कार्यकर्तालाई हौसला दिन गाडीमा हुइँकिएका दाहालको शैलीबारे सामाजिक सञ्जालमा विरोध त भएकै थियो, नेकपा (ओली) का अध्यक्ष केपी शर्मा ओलीले पनि कटाक्ष गरिदिए, ‘जनताले कति दुःख पाए भनेर तमासा हेर्न कोही गाडीमा, कोही मोटरसाइकलमा निस्क्या छन्, कार्यकर्ता सकिएछन्, आफैं हिँड्या छन् ।’
 
प्रतिनिधिसभा विघटन भएको डेढ महिनायता नेकपाको नेतृत्वबीच एकले अर्कालाई गर्ने यस्ता कटाक्षले हद नाघिसकेको छ । बिहीबार दाहाल–नेपाल नेतृत्वको नेकपाको आमहडताल र ओली नेतृत्व नेकपाका युवा विद्यार्थीको जुलुसबाट ‘मुठभेड’ सडकमै पुगेको छ । यसले नेकपाभित्रको द्वन्द्वले आगामी दिनमा मुलुकलाई थप अप्ठ्यारो पार्न सक्ने विश्लेषण राजनीतिक चिन्तकहरूको छ । थप अप्ठ्यारोको संकेत नेकपा अध्यक्ष दाहालले अर्को ठूलो जनआन्दोलन हुन्छ भन्दै बिहीबार सडकबाटै गरेका छन् । ‘लोकतन्त्रमाथि प्रहार भएको छ ।
 
सबै त्यस कदमविरुद्ध उत्रिएका छन्, जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ, त्यसका विरुद्ध हाम्रो आन्दोलन हो । यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो,’ उनले भने, ‘हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्ने छौं, फागुनको पहिलो साताबाट ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीलाई बढार्छ ।’ दाहालको यो अभिव्यक्तिको अर्थ सडक अझै अस्तव्यस्त हुन्छ, नागरिकको दुःख झन् बढ्छ भन्ने हो ।
 
ओलीले यसअघि नै ‘देखाइदिन’ का लागि गर्ने भनेको सभा शुक्रबार हुँदै छ । त्यो सभाका लागि दरबारमार्गका रेलिङहरू हटाइसकिएको छ । काठमाडौं बाहिरबाट मानिस ओसारेर राजधानीका होटल, पार्टी प्यालेसमा जम्मा गरिएको छ । टोलटोलबाट सभामा मान्छे ओसार्न गाडीको प्रबन्ध गरिएको सूचना व्यक्ति–व्यक्तिमा फोन र सामाजिक सञ्जालका मेसेज बक्समा भित्रिइसकेका छन् । हुन त ओली समूहले मुलुकका विभिन्न सहरमा यसअघि सभा गरिसकेको छ । केही स्थानमा ओली आफैं पुगेका छन् । यी सबै सभाभन्दा फरक खालको आफ्नो विरोधीलाई ‘देखाइदिने’ शक्ति प्रदर्शनको सभा शुक्रबार हुन लागेको हो ।
 
२०४६ को राजनीतिक परिवर्तनपछि सत्ता सडकमै उत्रिएर शक्ति देखाउन लागेको यो पहिलो पटक हो । तत्कालीन राजा ज्ञानेन्द्र शाह आफ्नो शासन कालको उत्तरार्द्धतिर ठाउँ–ठाउँमा नागरिक भेला गर्दै हिँडेका थिए तर नागरिकको आवागमन नै ठप्प हुने गरी सरकारले शुक्रबार गर्न लागेको जस्तै भेला पञ्चायत कालमा पञ्च र्‍यालीका नाममा हुने गर्थ्यो । कांग्रेस नेता गगन थापा सत्ताधारी दल नै यसरी सडकमा आउँदा मुलुक मुठभेडतिर जाने बताउँछन् । ‘सत्ता यसरी सडकमा आउन मिल्दैन,’ उनले भने, ‘सडक अरूको हो नि । यसले त सत्ता नै मुठभेड चाहन्छ भन्ने स्पष्ट देखिन्छ । सडकमा त सरकारसँग असन्तुष्टि राख्ने मान्छे छन् नि ।’
 
जति नै व्यवस्थित गर्छौं भनेर दाबी गरे पनि सडकमा मञ्च राखेर गरिने कार्यक्रमले नागरिकलाई सास्ती दिन्छ । यो सास्ती २०७४ को प्रतिनिधिसभा चुनावयता नागरिकले लगभग बिर्सिसकेका थिए । राजनीतिक दलभित्रको खिचातानीलाई एकछिनका लागि बिर्सिने हो भने जनताको दैनन्दिनले आफ्नो लय पक्रिसकेको थियो, भलै उनीहरूको गुजारा सडकमै किन नहोस् ।
 
अब तीन वर्षयताको सडकको शान्ति बाँकी रहेन । आजको कान्तिपुर दैनिकमा खबर छ ।