Trending :
 

पहिलो चरणबाट बचेको खोप प्राथमिकतामा परेकालाई दोस्रो चरणमा लगाउने

माघ २३,२०७७

-रासस

माघ २३,२०७७ काठमाडौं ।
 
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    
 
पहिलो चरणमा चार लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो ।
 
यही माघ १४ गतेबाट शुरु गरिएको खोप अहिलेसम्म एक लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथकितामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।    
    
भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोप चार लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै तीन दिन बाँकी छ । “अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौँ”, उहाँले भन्नुभयो, “यो तीन दिनमा बढी जनसङ्ख्यालाई लगाउने भएका छौँ । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धाश्रममा गएर खोप लगाउँछौँ ।”    
    
मन्त्रालयका प्रवक्ता डा गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताउनुभयो । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका दुई लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो । तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उहाँको भनाइ छ ।