Trending :
 

प्रतिनिधि सभा विघटनविरुद्धको बहसमा सरकारी वकिललाई पनि समय निर्धारण

माघ २४,२०७७

-

माघ २४, २०७७ काठमाडौं ।
प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो ।
 
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार इजलासको अन्त्यमा समय तोक्नेबारे जानकारी विपक्षतर्फका वकिललाई दिनुभएको छ । प्रधानन्यायाधीश जबराले अब १०, १५ मिनेटमा बहस सक्न आग्रहसमेत गर्नुभएको छ । विपक्षीका तर्फबाट शुक्रबारसम्म लगातार चोथौ दिन बहस भइसकेको छ । जसमा बहसका लागि समय तोकिएको थिएन ।
 
सरकारी वकिल र प्रधानमन्त्रीका तर्फबाट अझै धेरै कानुन व्यवसायी बहसका क्रममा भएकाले अब छोटो गर्ने र समय निर्धारण हुने जानकारी दिँदै प्रधानन्यायाधीश जबराले भन्नुभयो-‘‘अब समय तोकिन्छ । तपाईंहरूले १०, १५ मिनेटमा आफ्ना धारणा राख्नुहोला । 
 
प्रधानमन्त्रीका पक्षबाट पनि धेरै कानुन व्यवसायी बाँकी नै हुनुहुन्छ ।’’ शुक्रबार सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले प्रतिनिधि सभा अविछिन्न उत्तराधिकार प्राप्त संस्था नभएकाले पाँच वर्षअघि विघटन हुन सक्ने जिकिर गर्नुभयो । 
 
प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने संसदीय व्यवस्थाको एकीकृत मान्यता भएको जिकिर गर्दै उहाँले प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नसक्ने संविधानमा स्पष्ट व्यवस्था भए पनि विघटनबारे कुनै स्पष्ट प्रावधान नरहेको जिकिर गर्नुभयो ।
 
संविधानको धारा ८५ मा रहेको अगावै विघटनको अर्थ धारा ७६९७० मात्र नभएको तर्क रेग्मीको छ । यदि ७६९७० को अवस्थामा हुने भएको अवस्थामा संविधान बमोजिमको सट्टा धारा ७६९७० बमोजिम नै स्पष्ट किटानको अवस्था रहन्थ्यो भन्ने तर्क गर्दै उहाँले निवेदकहरू स्वयंले पनि प्रधानमन्त्रीले विघटन गर्न पाउने विषयलाई स्वीकार गरेको तर्क राख्नुभयो ।
 
संसदीय व्यवस्थामा विघटन गर्न पाउने अधिकार स्थापित मान्यता भएको उहाँको तर्क छ । वर्तमान अवस्थामा वैकल्पिक सरकार गठनको अवस्था नरहेको उहाँको दाबी छ । आवश्यकताको सिद्धान्तका आधारमा समेत प्रधानमन्त्रीले गर्नुभएको विघटन कानुनसम्मत रहेको जिकिर गर्दै उहाँले विघटनमा प्रधानमन्त्रीको दूरासय र बदनियत नरहेको बताउनुभयो ।
 
रेग्मीले भारत, पाकिस्तान लगायतका देशको अभ्यास पनि इजलासमा पेस गर्नुभयो । साथै संसदीय अभ्यास अवलम्बन गरेका देशको केही तथ्याङ्क प्रस्तुत गर्दैै उहाँले सर्वोच्च अदालतबाट यसअघि प्रतिपादित नजिर इजलासमा प्रस्तुत गर्नुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।