Trending :
 

गरिबी सूचकाङ्कमा लक्ष्यभन्दा बढी प्रगति हासिल

माघ २६,२०७७

-

माघ २६, २०७७ काठमाडौं ।
गरिबी न्यूनीकरणमा नेपालले राम्रो सफलता हासिल गरेको छ । सन् २०१५ देखि २०१९ को अवधिमा गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको हो । बहुआयमिक गरिबी सूचकाङ्क सन् २०१९ सम्ममा ३५.१ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा २८.६ प्रतिशतमा झरेर लक्ष्यभन्दा बढी प्रगति गरेको छ ।
 
नेपालको राष्ट्रिय गरिबी १८.६ प्रतिशत र बहुआयामिक गरिबी २८.६ प्रतिशतमा झरेको आइतबार राष्ट्रिय योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा जानकारी दिइएको हो । 
 
दिगो विकास लक्ष्य प्रगति समीक्षा, २०१६-२०१९ प्रतिवेदन र दिगो विकास लक्ष्य स्थानीयकरण स्रोत पुस्तिका, २०२० सार्वजनिक गर्न आयोजित त्यस कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले हालसम्म दिगो विकास लक्ष्यको प्रगति मिश्रित रहेको जानकारी दिनुभयो । 
 
दुवै प्रकाशन प्राडा कँडेल र राष्ट्रिय सभाको विधायन समितिका सदस्य डा. विमला राई पौड्यालले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।
 
प्रतिदिन १.९० डलर (पीपीपी मूल्य) आयभन्दा मुनि रहेको नेपालको जनसङ्ख्या सन् २०१५ मा ३६ प्रतिशत रहेकोमा अहिले (२०१९) १५ प्रतिशतमा झरेको छ । जुन २०१९ को लक्ष्य २८.२ प्रतिशतभन्दा धेरै प्रगति हो । यो दरलाई २०३० सम्ममा आठ प्रतिशतमा झार्ने लक्ष्य छ । आजको गोरखापत्रमा खबर छ ।