Trending :
 

उत्तराखण्डमा हिमनदी फुट्दा मृत्यु हुनेमध्ये १० नेपालीको पहिचान

माघ २८,२०७७

-

माघ २८, २०७७ काठमाडौं ।
भारत उत्तराखण्ड राज्यको चमोली जिल्लामा गत आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली मजदुरको शव पहिचान भएको छ ।
 
हिमनदी विस्फोटपछि धौलीगंगा र अलकनन्दासहितका नदीमा आएको बाढीमा परी स्थानीय सडक निर्माणमा खटिएका दर्जनौं नेपाली, भारतीय मजदुरसहित स्थानीय बासिन्दा बेपत्ता भएका थिए ।
 
उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेयका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रमा रहेका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसनका कर्मचारी बढीजसो बेपत्ता छन् । ‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो,’ पाण्डेयले फोनमा भने, ‘पहिचान खुलेका मृतक कामदारहरू कालीकोट र जुम्ला जिल्लाका छन् ।’
 
‘टोकन नम्बर’ का आधारमा पत्ता लागेका मृतकमा नरेन्द्रबहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेश नेपाली छन् । ‘यो विपत्तिमा परेर नेपाली श्रमिकले ज्यान गुमाएको सूचनालाई सक्दो अभिलेखमा राख्ने र सम्बद्ध परिवारलाई राहत–क्षतिपूर्ति दिलाउने कुरामा हरिद्वार-ऋषिकेशको नेपाली समाज लागिपरेको छ,’ पाण्डेयले भने, ‘तर, विपत्तिपछिको हताहत स्थिति साम्य भइनसकेकाले सबै सूचना लिन र राहत–उद्धारमा समन्वय गर्न अझै मुस्किल परिरहेको छ ।’
 
यो विपत्तिमा परेर ज्यान गुमाउनेमध्ये मंगलबार साँझसम्ममा ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ सय ७५ जना हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार हराइरहेकामध्ये ११ जना नेपाली छन् । 
 
सूची सार्वजनिक भएको बाहेक पनि थप ४० जनाभन्दा बढी हराइरहेको चमोली जिल्ला विपद् व्यवस्थापन कार्यालयको कन्ट्रोलले जनाएको छ । सार्वजनिक सूचीमा तिनीहरूलाई नेपाली भनिए पनि एक जनाको मात्र ठेगाना खुलेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।