अब देशभरका सामुदायिक विद्यालयमा दिवा खाजा सुरु
-
माघ २८, २०७७ काठमाडौं ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी घोषणा गरिएको दिवा खाजा कार्यक्रम विद्यालयहरूमा सुरु गरिएको छ । कोरोना भाइरस न्यून हुँदै भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यालयमा दिवा खाजा सुरु गरिएको हो । योसँगै अब सामुदायिक विद्यालयमा अध्ययनरत देशभरका विद्यार्थीले विद्यालयमा खाजा खाँदै पठनपाठन अगाडि बढाउन पाउने भएका छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यालयहरू भौतिक रूपमा सञ्चालनमा आएसँगै विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि आवश्यक पर्ने बजेट स्थानीय तहमार्फत उपलब्ध गराइएको छ ।
केन्द्रका अनुसार एक विद्यार्थीलाई बढीमा १८० दिनका लागि खाजा रकम उपलब्ध गराइनेछ । कोरोना प्रभावका कारण विद्यालय पुनः सञ्चालनमा आउन बाँकी रहेका बाहेक अन्य विद्यालयमा विद्यालय खाजाको समस्या नहुने जनाइएको छ ।
काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत मोतीराज खनालले काठमाडौँ महानगरपालिका मातहतका सार्वजनिक विद्यालय माघ ११ बाट मात्र सञ्चालनमा आएका कारण धेरै विद्यालयमा भर्खरै मात्र दिवा खाजा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । यसका लागि विद्यालयले प्रतिदिन प्रतिविद्यार्थी १५ रुपियाँ खर्च गरी रकम निकासाको माग गरेपछि विद्यालयको खातामा पठाइनेछ ।
कर्णालीका विद्यार्थीले भने प्रतिदिन २० रुपियाँ पाउनेछन् । विद्यालयले विद्यार्थीलाई खाजा खुवाएपछि पछिल्लो महिनाको ७ गतेभित्र निकासाका लागि निवेदन दिनुपर्ने प्रावधान महानगरले बनाएको छ । आजको गोरखापत्रमा खबर छ ।