भागरथी बलात्कार-हत्यामा संलग्न आरोपमा एउटै स्कुलमा पढ्ने किशोर पक्राउ

फाल्गुण ०५,२०७७

-

फागुन ५, २०७७ काठमाडौं ।
 
भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 
 
पक्राउ पर्ने व्यक्ति सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । भागरथीका छिमेकीसमेत रहेका उनलाई बुधबार सार्वजनिक गरिने प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार ती विद्यार्थीले प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।
 
जिल्ला प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले यसबारे पत्रकार सम्मेलन गरेर पुष्टि गर्ने बताए । ‘हामीले सफलता हात पारेका छौं । प्रहरीका केही टोली जिल्ला फर्के । म खोचलेकबाट फर्कने तयारीमा छु । केही समयपछि आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘आधिकारिक पुष्टि गरेपछि सबै कुरा खुल्छ ’
 
दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव माघ २२ गते खोचलेक-चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो । वडा नम्बर ३ स्थित सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको हो ।
 आजको कान्तिपुरमा खबर छ ।