Trending :
 

पर्यटकीय बजार चौबिसै घण्टा खोल्न बोर्डको प्रस्ताव

फाल्गुण ०७,२०७७

-

फागुन ७, २०७७ काठमाडौं ।
 
नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रस्ताव अघिसारेको छ । सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताउनुभयो ।
 
 
‘राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् रु’ उहाँले भन्नुभयो, ‘अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँ ।
 
कोरोना सङ्क्रमणको परिस्थितिमा विगत एक वर्षमा बोर्डले गरेका काम सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले पर्यटक भित्र्याउन क्वारेन्टिन बाधक भएको स्पष्ट पार्नुभयो ।
 
परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक भित्र्याउन सहज बाटो खोलिदिनुपर्ने उहाँको भनाइ थियो ।
 
सामाजिक दूरी पालना गर्ने, मास्क लगाउनेजस्ता नियमलाई थाँती नै राखेर पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उहाँले बताउनुभयो । विश्वका विभिन्न देशले विस्तारै अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गरेको अवस्थामा नेपाल अब पछाडि पर्न नहुने उहाँको भनाइ थियो । खासगरी छिमेकी मुलुक भारत र चीनलाई मात्र प्राथमिकतामा राखेर पनि नेपालले अबको पर्यटन फर्काउन सक्ने उहाँले बताउनु भयो ।
 
कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीको अवस्थामा नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकलाई लुक्ला, पोखरा तथा अन्य स्थानबाट एक हजार ७२१ जना पर्यटकको उद्धार गरेको जानकारी दिनुभयो । त्यस्तै ती पर्यटकलाई स्वदेश फर्काउन पनि बोर्डले सहजीरकण गरेको उहाँले बताउनुभयो । आजको गोरखापत्रमा खबर छ ।