आधा करोड चिट्ठा परेको सूचनाको प्रलोभनले एक नर्सको लाखौं रुपैयाँ स्वाहा

फाल्गुण १०,२०७७

-

फागुन १०,२०७७ काठमाडौं ।
राजधानीको एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएपबाट ‘कौन बनेका करोडपति’ अफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको सूचना आउँछ । ती नर्स खुसीको ‘खबर’ भन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगै खुसी हुँदै फुरुङ्ग बन्छिन् । खुसीको खबर बुबासम्म पनि पुग्छ । नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तो अवसर मिल्यो ?
 
अब चिट्ठाबापतको करोड रकम छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ । ह्वाट्सएपबाट सम्पर्कमा आएको अज्ञात व्यक्ति चिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क (कर) तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ र रकम पठाइन्छ । छ घण्टामा उहाँँहरूले सात लाख रुपियाँ पठाउनुभयो ।
 
“एक लाख कर तिर्दा करोड आउने प्रलोभनमा’ उहाँहरूले बिहीबार सुवास रुम्बा, अमितकुमार, प्रिती तुम्बापो, भोला महतो र प्रदीपकुमारसहित पाँच जनाको नाममा बिहान ११ देखि ४ बजेसम्मको अवधिमा साढे सात लाख रकम आईएमई-पेबाट पठाउनुभयो ।
 
यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप केबीसी नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन । खातामा पठाइदिन्छु भनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ । 
 
अनलाइन ठगीसम्बन्धी उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखामा पुग्नुभएकी ती नर्स आफूजस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउनुहुन्छ । यस्तै प्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गर्नुभयो ।
 
सुन्धारामा रेडिमेट पसल सञ्चालन गर्दै आएकी ती महिलाले पनि अनलाइन चिट्ठाको लोभमा एकै दिन पाँच लाख गुमाएको पीडा सुनाउनुभयो । अनलाइन ठगीका कारण २५ हजारभन्दा माथि १० लाखसम्म गुमाएको उजुरी बोकेर महाशाखा पुग्ने पीडितको लर्को नै लाग्ने गरेको छ । आजको गोरखापत्रमा खबर छ ।