Trending :
 

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य : कांग्रेस

फाल्गुण १२,२०७७

-

फागुन १२, २०७७ काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ। तीन चरणको आन्दोलनका कार्यक्रम गरिसकेको कांग्रेसले सर्वोच्चको फैसलाको स्वागत गरेको हो। 
 
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेलगत्तै कांग्रेसले सरकारको कदमको विरोध गरेको थियो। प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक कांग्रेसको ठहर थियो। सर्वोच्चको फैसलापछि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी अदालतले गरेको फैसलाको सम्मान र स्वागत गरेको जनाएका छन्। 
 
अदालतमाथि विश्वास गर्नुपर्ने भन्दै उनले सर्वोच्चको फैसला स्वीकार गर्नुपर्नेमा जोड दिँदै आएका थिए। ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो,’ विज्ञप्तिमा देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो।’ 
 
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो संकटबाट जोगाएको बताए। संसद पुनःस्थापनाका पक्षमा अडान राख्दै आएका उनले अदालतको फैसलाले सत्यको जित भएको उल्लेख गरे। ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। पार्टी कार्यक्रमको सिलसिलामा काठमाडौं बाहिर रहेका नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’ 
 
संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै आएको कांग्रेसले संसद पुनःस्थापनालाई आन्दोलनको एजेन्डा भने बनाएको थिएन। पुनःस्थापित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँणले अदालतको फैसलाले संविधानको रक्षा गरेको बताए। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।