दरबन्दी मिलान गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा गर्न सक्ने

फाल्गुण १६,२०७७

-

फागुन १६,२०७७ काठमाडौं ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम सकेर प्रतिवेदन प्राप्त गरेका स्थानीय तहले मात्र शिक्षक सरुवा गर्न सक्ने जनाएको छ ।
 
गत पुस २० गतेदेखि शिक्षकको जिलान्तर सुरुवा रोक्कालाई फुक्का गर्दै केन्द्रले विभिन्न सर्तमा मात्र शिक्षक सरुवा गर्न पाइने जनाएको छ ।
 
जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्ला भित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र शिक्षक सुरुवा गर्न सक्ने केन्द्रले जारी गरेका सूचनामा उल्लेख गरिएको छ ।
 
त्यस्तै पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफरिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तहमा सरुवा गरी पदपूर्ति गर्न नपाइने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए ।
 
स्थानीय तह अन्तर्गतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नुपर्ने अवस्था आएमा स्थायी पदपूतिका लागि सिफारीस भएको संख्यामा असर पुग्ने गरी काम गर्न पनि नपाइने केन्द्रले जनाएको छ ।
 
पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भएमा मात्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसमा नियमानुसार सरुवा गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।