दोभान बजारमा आगलागीबाट करिब ३ दर्जन घर जलेर नष्ट

फाल्गुण १८,२०७७

-आस्था न्यूज

फागुन १८,२०७७ काठमाडौं ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३, दोभान बजारमा मंगलबार बिहानदेखि लागेको आगो थप फैलिनबाट रोकिएको छ ।
 
सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो ।
 
मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले  अहिले आगो निकै नियन्त्रणमा आएको बताए । एक्स्काभेटर र दमकल लगाएर आधा बजार जोगाउन सफल भएपनि पूर्ण रुपमा आगो नियन्त्रणमा आइ नसकेको उनले बताए । अध्यक्ष लिम्बूका अनुसार करिब ३ दर्जन घर जलेको अनुमान गरिएको छ । केहीबेरमै सर्वपक्षीय बैठक बस्ने र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्थाबारे छलफल र निर्णय गरिने पनि उनले बताए ।
 
बिहान ९ बजेतिर स्थानिय भोला पौडेलको घरबाट आगो सल्किएको जनाइएको छ । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए ।
 
‘जिल्लामा अहिले सीडीओ नभएकाले पनि के गर्ने, कसो गर्ने भन्ने अन्योलमा परेको गाउँपालिका अध्यक्ष लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो । तस्बिर: रेडियो तमोरको फेसबुकबाट