Trending :
 

भू-उपग्रहका लागि पाँच कम्पनी छनौंट

फाल्गुण २५,२०७७

-

फागुन २५,२०७७ काठमाडौं ।
नेपालको आफ्नै भू-उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिइएको छ । प्रक्षेपण कार्य अध्ययनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पाँचवटा अन्तर्राष्ट्रिय कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरेको छ ।
 
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले सन् २०२२ भित्र आकाशमा नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार यस कार्यलाई अगाडि बढाइएको जानकारी दिनुभयो । यससम्बन्धी नियमन तथा सुरक्षासम्बन्धी आवश्यक नीति तयार गर्न ‘बिजनेस मोडालिटी’ तथा सञ्चालनबारे अध्ययन अनुसन्धान गर्न पाँचवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरिएको छ ।
 
उहाँका अनुसार भारतको केपीएमजी असु¥यानसिटी एन्ड कन्सल्टिङ सर्भिस, अमेरिकाको स्पेस पार्टनरसिप इन्टरनेसनल, बेलायतको इकोनिमिक्स लिमिटेड र फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इङ्क सङ्क्षिप्त सूचीमा सूचीकृत भएका छन् ।
 
प्रवक्ता अर्यालले भन्नुभयो, “भू-उपग्रह प्रक्षेपण नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेकोमा नौ कम्पनीले आशयपत्र बुझाएका थिए । तीमध्ये पाँच कम्पनीलाई सङ्क्षिप्त सूचीमा सूचीकृत गरिएको छ ।” प्राधिकरणले पुस १ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
 
उहाँले भन्नुभयो, “सूचीकृत भएका कम्पनीसँग एक महिनाको समयावधि दिएर आर्थिक र प्राविधिक प्रस्ताव माग गरिनेछ । प्रस्ताव पेस गरेका कम्पनीको लागत र गुणस्तरका आधारमा मूल्याङ्कन गरेर उच्च स्कोर प्राप्त गर्न सक्ने एउटा कम्पनी छनोट गरिनेछ ।” सूचीकृत भएका कम्पनीसँग यसै हप्ता प्रस्ताव माग गरिने उहाँले बताउनुभयो ।
 
उहाँले प्रस्ताव आएको बढीमा एक महिनाभित्र मूल्याङ्कन, अन्तिम कम्पनी छनोट र सम्झौता कार्य सम्पन्न हुने जानकारी दिनुभयो । छनोट भएका कम्पनीले सम्झौता भएको छ महिनाभित्र आफ्नो काम पूरा गरी सोको प्रतिवेदन प्राधिकरणलाई बुझाइसक्नु पर्नेछ । 
 
भू-उपग्रह प्रक्षेपण भइसकेपछि त्यसको ‘भेरिफिकेसन’सम्मको कामसमेत छनोट भएका कम्पनीले गर्नेछन् । आजको गोरखापत्रमा खबर छ ।