प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता आ-आफ्नै पूर्ववत् पार्टीमा रहने
-
फागुन २५,२०७७ काठमाडौं ।
सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता-कार्यकर्ता आ-आफ्नै पूर्ववत् पार्टीमा रहने भएका छन् ।
सोमबार बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठकमा अहिले अदालतको फैसला नमान्दा झन् कठिन परिस्थिति आउने भन्दै एमाले र माओवादी नेताहरूले आ-आफ्नै पार्टीमा रहने निर्णय गरेका हुन् । कानुनी रूपमा एमाले र माओवादी केन्द्रमा रहे पनि पार्टी एकताका लागि दुवैले पहल गर्ने निष्कर्ष उनीहरूको छ । २०७५ जेठ ३ मा भएको एकतालाई सर्वोच्चले अस्वीकार गरेपछि बाध्य भएर दुइटा पार्टीमा क्रियाशील हुनुपर्ने अवस्था आएको यो समूहको निचोड छ ।
बैठकपछि नेता नारायणकाजी श्रेष्ठले रिट निवेदकको माग दाबीभन्दा बाहिर गएर गरिएको फैसलाप्रति असहमति रहँदारहँदै पनि कार्यान्वयनको प्रक्रियामा जानुपरेको बताए । ‘सर्वोच्च अदालतले नेकपाका सन्दर्भमा गरेको फैसलाबारे गम्भीर छलफल गर्यौं ।
यसलाई रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाका रूपमा लिएका छौं, मागदाबीभन्दा बाहिर गएर एकीकृत पार्टीलाई विभाजन गर्ने फैसलाप्रति हामीले गम्भीर असहमति राखेका छौं,’ बैठकपछि नेता श्रेष्ठले भने, ‘असहमति हुँदाहुँदै पनि आफ्नै ढंगले कार्यान्वयनको प्रक्रियामा जाने स्पष्ट छ । कानुनी ढंगले पनि उपचार खोज्ने प्रक्रिया अगाडि बढाउँछौं ।’
स्थायी कमिटीको अनौपचारिक बैठकमा जानुअघि नेपाल समूहका नेताहरूले कानुनविद्सँग परामर्श गरेका थिए । उक्त परामर्शमा पूर्ववत् पार्टीमा सक्रिय नरहँदा झन् जटिल अवस्था आउन सक्ने राय कानुनविद्हरूले दिएका थिए ।
उता ओली पक्षले समेत दाहाल–नेपाल समूह पुनरावलोकनमा जानेबित्तिकै नेपाल पक्षीय नेताहरूलाई अनुशासन उल्लंघनको कारबाही गर्ने तयारी गरिरहेका थिए । यही भेउ पाएपछि नेताहरूले आ–आफ्नै पार्टीमा बस्ने र ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निर्णय गरेका हुन् ।
सर्वोच्च अदालतको फैसलापछि नेपाल समूह अप्ठेरोमा परेको थियो । एमाले दल फुटाउने संख्या पनि नपुग्ने र दल नै छोडेर जाँदा पनि माओवादीसँग मिसिएर गएको सन्देश जाने भएपछि नेपाल समूहलाई समस्या परेको थियो । नेपाल समूहसँग एमालेको संसदीय दलमा ४० प्रतिशत सांसद नभएकाले उनीहरूले दल विभाजन प्रक्रिया रोज्दा सांसद पद नै त्याग्नुपर्ने स्थिति आउन सक्थ्यो ।
यस्तोमा नेपाललाई साथ दिने सांसदको संख्या झन् घट्न सक्ने आकलन उनले गरेका थिए । नेपाल समूहका धेरै नेता नाम र चुनाव चिह्न सूर्यप्रति पनि आकर्षित रहेकाले तत्कालै पार्टी छोडेर अर्कोमा जाँदा हुने राजनीतिक जोखिम मोल्न तयारसमेत नदेखिएपछि पूर्ववत् पार्टीभित्र संघर्ष गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।