Trending :
 

ओली र प्रचण्ड गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्शलाई तीव्रता दिदै

फाल्गुण २६,२०७७

-

फागुन २६,२०७७ काठमाडौं ।
सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् ।
 
अहिले ओली दाहाल नेतृत्वको माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री छन् । तर एकीकृत पार्टी विधिवत् रूपमै आ-आफ्नो धारमा फर्किएपछि उनीहरूबीच सत्ता जोगाउने र भत्काउने प्रतिस्पर्धा सुरु भएको हो ।
 
ओली नेतृत्वको एमालेसँग हाल १ सय २० सांसद भएकाले जसपासँग सहकार्य गरे मात्रै पनि सरकार बनाउन बहुमत पुग्छ । जसपाको सिंगो समूह आफू नेतृत्वको सरकारमा आउन तयार भएन भने विभाजन गराएर भए पनि एउटा खेमासँग मिलेर गठबन्धन सरकार बनाउने मनस्थिति ओलीको छ ।
 
त्यसैका लागि जसपा नेतासँग ओलीले छलफल चलाएका हुन् । जसपामा अहिले ३२ सांसद छन् । ‘हामीलाई सरकार बनाउन चाहिने संख्या भनेको १८ मात्रै हो, जसपाका सबै आउनु पनि पर्दैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘त्यसका लागि छलफल चलाएका छौं, उहाँहरूले आफ्ना माग राख्नुभएको छ, टुंगोमा पुगिन्छ होला ।’
 
जसपाले सांसद रेशम चौधरीको रिहाइ, थरुहट र मधेस आन्दोलनका बेला नेता–कार्यकर्तालाई लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका विषय सम्बोधन हुनुपर्ने सर्त राखेको छ । यही माग लिएर जसपाका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।