Trending :
 

जसपा लाई आफूतिर तान्न ओली प्रचण्डको रस्साकसी

फाल्गुण २७,२०७७

-

फागुन २७, २०७७ काठमाडौं ।
 
सत्ता समीकरणलाई लिएर सत्तारूढ एमाले र माओवादी केन्द्रले जनता समाजवादी पार्टी ९जसपा० लाई आफूतिर तान्न रस्साकसी थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन निर्णायक शक्ति बनेपछि दुवै पार्टीले जसपालाई फकाउन थालेका हुन् ।
 
एमाले र माओवादी केन्द्रले बुधबार जसपाका नेताहरूसँग छलफल गरेका थिए । बिहान सरकार पक्षसँग कार्यदलस्तरमा छलफल भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेताहरूमाझ जसपा कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग कुराकानी गरे । 
 
दाहालले ओलीको विकल्पमा तीन दलीय गठबन्धन सरकार बनाउन जसपालाई आफूतिर ल्याउन चाहिरहेका छन् । प्रधानमन्त्री ओलीले पनि जसपाको साथ लिएर सरकारलाई टिकाउन खोजेका छन् । सत्ता समीकरणलाई लिएर यी दुई पक्षको तानातानमा परेको जसपा भने आफैं अन्तरकलहमा फस्न थालेको छ ।
 
व्यावहारिक रूपमा अलग भए पनि माओवादी केन्द्र प्राविधिक रूपमा सत्तापक्षमै छ । उसले औपचारिक रूपमा सत्ता सहकार्य तोडेको जानकारी गराएपछि प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता हुन्छ । 
 
माओवादी केन्द्रको मुख्य तारो पनि प्रधानमन्त्री ओली बनेका छन् । उनलाई सत्ताबाट च्युत गराउन अध्यक्ष दाहालले केही दिनयता आफ्नो सक्रियता बढाइरहेका छन् । मंगलबार जसपा संघीय परिषद्का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका दाहालले बुधबार ठाकुर र महतोसँग वार्ता गरेका हुन् । 
 
ठाकुरले पार्टीमै जानकारी नगराई सरकार पक्षसँग वार्ताका लागि कार्यदल बनाएको जानकारी गराएपछि दाहाललाई आशंका बढेको छ । ठाकुर, महतोसहित जसपाको पूर्वराजपा धार ओलीसँग जोडिन सक्ने आशंका बढेपछि दाहालले त्यसलाई रोक्न ठाकुर र महतोसँगै छलफल गरेका थिए । 
 
जसपाका कार्यकारिणी समितिका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष भट्टराईसहित पूर्वसमाजवादीका नेताहरूको जोड भने तीन दलीय गठबन्धनतिरै छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिएका दलहरूको सत्ता गठबन्धन नै प्राकृतिक हुने उनीहरूको ठम्याइ छ ।
 
जसपा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारसँग सहकार्य गर्ने सम्भावनै नरहेको बताए । ‘अहिलेको अवस्थामा सरकारलाई सघाउने र गठबन्धन बनाउने कुनै सम्भावना छैन, प्रतिगमनकारीलाई सत्ताबाट च्युत गर्ने हाम्रो मूल ध्येय हो,’ उनले भने । ठाकुरले बनाएको कार्यदल रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइका लागि मात्रै भएको यादवले बताए । आजको कान्तिपुरमा खबर छ ।