Trending :
 

माथिल्लो तामाकोसीको बिजुली नयाँ सालको उपहारका रूपमा आउने

फाल्गुण २८,२०७७

-

फागुन २८,२०७७ काठमाडौं ।
सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ ।
 
केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । “वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,” उहाँले भन्नुभयो, “करिब १५ दिन लाग्ने यो परीक्षणपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ ।”
 
अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्स फर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ ।
 
त्यसो त चैत मसान्तभित्र एउटा टर्बाइनबाट भए पनि विद्युत् उत्पादन गर्ने समयसीमा तोकिएको छ तर समयसीमाभन्दा पनि चुस्त परीक्षण र निर्माणमा कुनै सम्झौता नगर्ने गरी आयोजनाका अधिकारी तथा प्राविधिकहरूले सक्रियता देखाइरहेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।