Trending :
 

ओलीको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई माधव नेपाल पक्षको आह्वान

फाल्गुण २९,२०७७

-

फागुन २९, २०७७ काठमाडौं ।
 
नेकपा एमाले माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आह्वान गरेको छ । 
 
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल पक्षको बैठकले विधान विपरीत निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
 
 
जसअनुसार समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय  लिएको छ । यस्तै संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ ।
 
 
चैत ४ गते राष्ट्रिय भेला बोलाएर पार्टी पुनर्संरचनाको अभियान घोषणा गर्ने नेपाल पक्षको तयारी छ । एमाले उपाध्यक्ष भीम रावलका अनुसार शनिबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर थप छलफल गर्ने समझदारी पनि भएको छ । 
 
 
रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदमविरुद्ध सबैलाई एकताबद्ध गरेर पार्टीको रक्षाका लागि अग्रसर हुने बताए ।
 
ओलीबाट कम्युनिष्ट आन्दोलनलाई धरासायी पार्ने काम भएको नेपाल पक्षको बुझाइ छ । उनले बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने रावलको तर्क छ । 
 
ओलीको पछिल्लो निर्णय अलोकतान्त्रिक र कम्युनिष्ट एकता विरोधी भएको उनको टिप्पणी छ । नेकपा एमाले फुटाउने र कम्युनिष्ट आन्दोलनलाई सकाउने उद्देश्यसहित कदम चालको नेपाल पक्षको ठहर छ । आजका पत्रपत्रिकामा खबर छन् ।