प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर
-
चैत १, २०७७ काठमाडौं ।
सरकारले नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम हेरफेर गरिएको हो । हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम ‘नेपाल प्रहरी प्रधान कार्यालय’ बनाइएको छ । उपत्यकास्थित सबै प्रहरी युनिटको नाम अघि रहेका ‘महानगरीय’ शब्द झिकिएको छ ।
उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालयलाई ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय’ बनाइएको छ । महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नामकरण गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको नाम जिल्ला प्रहरी परिसर कायम भएको छ ।
उपत्यकाभित्रका वृत्त, प्रभाग र बेसका अघि रहेको महानगरीय शब्द पनि हटाइएको छ । जस्तै महानगरीय प्रहरी वृत्त सिंहदरबारको सट्टा प्रहरी वृत्त सिंहदरबार रहनेछ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय राखिएको छ ।
महानगरीय सशस्त्र प्रहरी गणलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नामकरण गरिएको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी संगठन तथा व्यवस्थापन ९ओएन्डएम० सर्वेक्षण स्वीकृत गरे पनि हेरफेर भएका प्रहरी युनिटहरूको नाम सार्वजनिक गरिएको थिएन ।
प्राप्त विवरणअनुसार देशभर नेपाल प्रहरी मातहत २ सयभन्दा बढी युनिट राखिएका छन् । उपत्यकाका तीन जिल्लाबाहेक ७४ जिल्ला प्रहरी कार्यालय र थप ८७ अन्य युनिट प्रदेश प्रहरीको कमान्डरकन्ट्रोलमा रहनेछन् ।
प्रधान कार्यालयका केही युनिटलाई नेतृत्व गर्ने अधिकृतको दर्जागत तहसहित हेरफेर गरिएको छ । केही महाशाखालाई निर्देशनालय र केहीलाई शाखामा झारिएको छ ।
देशभर भएका अपराध अनुसन्धान तथा नियन्त्रण र त्यसअनुसार रणनीतिक तय गर्न हेडक्वार्टरमा प्रदेश अपराध समन्वय शाखा स्थापना गरिएको छ । यसअघि यो युनिट अपराध अनुसन्धान महाशाखाका रूपमा क्रियाशील थियो । प्रदेश प्रहरी कार्यालयअन्तर्गतका केही महत्त्वपूर्ण कार्यालय नेपाल प्रहरी मातहत ल्याइएको छ । आजको कान्तिपुरमा खबर छ ।