कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड नगर्न आग्रह
-
चैत ९,२०७७ काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढन सक्ने भन्दै देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको जानकारी गराउनुभयो ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा समेत कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन अनुरोध गरिएको उहाँले बताउनुभयो । मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ ।
भारतबाट आउनेको परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल–भारत स्थल सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । मन्त्रालयले ७७ वटै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत पत्र पठाउँदै हाइ अलर्टमा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले भारतमा दिनानुदिन बढ्दै गइरहेको कोरोना सङ्क्रमणले नेपालमा जोखिम बढ्न सक्ने आकलन गरेर १४ वटै सीमा नाकाका हेल्थ डेस्कलाई थप सक्रिय बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।