Trending :
 

सुन्दर घर पाएपछि ६ दिदीबहिनीको मुहारमा हाँसो

चैत्र ०९,२०७७

-

चैत ९,२०७७ काठमाडौं ।
 
बैतडीका सहाराविहीन ६ दिदीबहिनीले पढ्न मात्र होइन, नयाँ जीवन दिने आमाबुबा र बस्ने सुन्दर घर पनि पाएका छन् ।
 
बैतडीको दशरथचन्द नगरपालिका–१० को सत्पाली गाउँ । त्यही गाउँमा दुःखकष्ट झेलेर बस्थे ६ जना दिदीबहिनी । बिरामी बुबा राजुराम लावडलाई औषधि लिन भारतीय बजार पिथौरागढ गएकी आमा मीनादेवी बेपत्ता भएको तीन वर्ष भइसकेको थियो ।
 
बिरामी बुबाको पनि एक वर्षअघि मृत्यु भयो । त्यसपछि सहाराविहीन बनेका दिदीबहिनी बिचल्लीमा परेका थिए । उनीहरूलाई हेरविचार गर्ने आफन्त कोही थिएनन् । गाउँमै रहेको जीर्ण एककोठे घरमा साँझबिहानको छाक टार्न धौधौ पर्ने समस्यासँग उनीहरू जुधिरहेका थिए ।
 
जेठी १५ वर्षकी नीलमले आफू र बहिनीको हेरविचार गरिरहेकी थिइन् । गाउँमै मागेर गुजारा चलाइरहेका उनीहरूको अवस्थाबारे जानकारी पाएपछि नगरपालिकाले केही खाद्यान्न सहयोग गर्दै आएको थियो । जंगल छेउको घरमा बसिरहेका उनीहरूको सुरक्षा र भविष्यबारे केही टुंगो थिएन । गाउँकै सरकारी विद्यालयमा पढ्ने उनीहरू आलोपालो विद्यालय जान्थे ।
 
गत भदौ २३ गते कान्तिपुर दैनिकमा ‘किशोरीको काँधमा पाँच बहिनीको जिम्मेवारी’ शीर्षकमा उनीहरूबारे समाचार प्रकाशित भयो । त्यही समाचारले उनीहरूको दुःख र अभावको जीवन नै फेरिएको हो । 
 
बालिकाहरूले नयाँ जीवन दिने आमाबुबा र बस्ने सुन्दर घर पाएका छन् । ६ महिनाअघि काभ्रेको पनौतीस्थित एसओएस बालग्राममा पुगेका उनीहरूको बोलीचाली, रहनसहनदेखि दैनिकी नै फेरिएको छ ।
 
अघिल्लो आइतबार एसओएस बालग्राम पनौती पुग्दा उनीहरू एसओएसकै विद्यालयमा पढ्न गएका थिए । दिउँसो १ बजे फर्किएपछि हेरचाह गर्ने आमा अम्बिका सिम्खडाले बनाएको खाजा खाए । त्यतिबेला म पनि उनीहरूले आश्रय लिइबसेको घर पुगिसकेकी थिएँ । आजको कान्तिपुर दैनिकमा खबर छ ।