विद्यार्थीलाई क्षति नहुने गरी शैक्षिक सत्र मिलान गरिने
-
चैत ९,२०७७ काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा विद्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिनुभयो । हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्वविद्यालयको योजना छ । यसका साथै स्नातकोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ ।
स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्थामा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न सकिने उहाँको भनाइ छ ।
स्नातक तहका अन्य वर्षका परीक्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जनाइएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्यसलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दिनुभयो ।
वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले विद्यार्थीको केही महिना क्षति भएको उहाँको भनाइ छ । आजको गोरखापत्रमा खबर छ ।